मन्थली, फागुन २३ :

रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन । 

ठेकेदारको लापरबाहीका कारण रामेछापको ‘लाइफलाइन’ का रूपमा रहेको यो पुल निर्माण हुन नसकेको हो ।  

रामेछापलाई मध्यपहाडी राजमार्गमा जोड्नका लागि रामेछाप नगरपालिकाको रामपुरस्थित कोलन्जोर घाटको सुनकोशी नदीमा निर्माणाधीन यो पुल चार वर्षअघि नै निर्माणसम्पन्न हुनुपर्ने थियो । त्ययता लगातार म्याद थपिए पनि निर्माण सम्पन्न हुनसकेको छैन । 

विसं २०७७ मै सम्पन्न हुनुपर्ने उक्त पुलको म्याद यही २०८१ साल चैत २० गतेसम्म थपिएको छ । म्याद सकिन एक महिना बाँकी रहँदा बाँकी काम सुरु नै हुनसकेको छैन । 

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले पुल निर्माणका लागि ताकेता गरिरहेको भए पनि व्यवसायीले चासो नगरेको  बताए । पुल चाँडो सम्पन्न गराउनका लागि धेरै पटक सरकारका विभिन्न निकायमा धाएको तर हालसम्म काम सुरु नभएको उनको भनाइ छ । अन्तिम पटक थपिएको म्याद सकिन पनि अब एक महिना मात्रै छ तर हालसम्म काम सुरु नै भएको छैन । यसले थप समस्या सिर्जना गरेको उनले बताए ।

सडक विभागको पुल सेक्टर आयोजनाले २०७४ सालमा पुलको ठेक्का लगाएको थियो । शङ्करखोला दोभान पुल आयोजना नामको यस पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रक्रियाबाट निर्माण थालिएको थियो । अनक महावीर जेभीले पुल निर्माणको जिम्मेवारी पाएको थियो । कुल एक सय ९० मिटर लामो पक्की पुल निर्माणका लागि २३ करोड ६८ लाख ६७ हजार ३५० (भ्याटसहित) मा सम्झौता भएको थियो ।

यस पुलले मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका र रामेछापको रामेछाप नगरपालिका जोड्ने गरेको छ । यस पुलको स्ल्याब ढलानको काम भइसकेको छ तर पुलमा आउने ‘एप्रोच’ सडक पुल नजिक लगाउनुपर्ने ‘रिटेनिङ वाल’ र ‘रेलिङ’ को काम भने बाँकी छ ।

सडक विभाग, पुल आयोजना सेक्टरका इन्जिनियर नेत्रविलाश पौडेलले पुलको काम अगाडि बढाउन कार्यालयबाट पटक पटक मौखिक तथा लिखित अनुरोध गरे पनि निर्माण व्यवसायीले अटेर गरिरहेको बताए ।