
प्रहरीले खोटाङ, झापा र तनहुँबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ ।
खोटाङको जन्तेढुङगा गाउँपालिका ३, छिमाबाट गाँजाजस्तो देखिने पदार्थ १ किलो ८ सय ६० ग्रामसहित सोही गाउँपालिका ४, खाप्तिङ घर भई उदयपुर बेलका नगरपालिका १, आम्बासी बस्ने ४५ वर्षीय रामकुमार राईसमेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले खाप्तिङबाट बंसिलातर्फ जाँदै गरेको प्र-१-०४-००१ ह ०२७८ नम्बरको अटोमा चढेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै झापाको भद्रपुर नगरपालिका ५ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्रामसहित दुई जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १०, हिमालय टोल बस्ने २६ वर्षीय प्रकाश यादव र सोही नगरपालिका १०, शान्तिचोक बस्ने ३२ वर्षीय साकिर मोहम्मद छन् ।
प्रहरी बिट मेचीपुल र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै तनहुँको आँबुखैरेनी गाउँपालिका ४, बेनिटारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ५ सय ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका ४ घर भएका २३ वर्षीय अनमोल रिमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा.५ख ६९६ नम्बरको बसमा चढेका उनलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।