रामपुर , फागुन २७ :

पाल्पाका खेतबारीमा किसानहरू आलु खन्ने काममा व्यस्त छन् । 

आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य गरिरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् । 

एकै पटक आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भएको पाल्पा रामपुरका युवा सुशील ढुङ्गाना बताउँछन् । उनले रामपुर- ५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन् ।

उत्पादन राम्रै भएकाले किसान आलुखेतीबाट उत्साहित छन् । खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले आलु उत्सवजस्तै लागेको छ । घरका कोठाहरु अहिले आलुले भरिएको उनले बताए ।

रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय किसान आलुखेतीमा हौसिएका छन् ।