काठमाडौं, फागुन २७ :

अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरुको प्रचार तथा प्रवर्धन गरिएको छ ।

अमेरिकाको कोलोराडोस्थित डेन्बरमा भएको ‘ट्राभल एन्ड एड्भेन्चर शो-२०२५’ मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै ‘साहसिक पर्यटन राजधानी’ को प्रस्तुत गरेको छ ।

यही मार्च ८-९ मा सम्पन्‍न  ‘ट्राभल एन्ड एड्भेन्चर शो-२०२५’ मा नेपाल पर्यटन बोर्डले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाललाई एक साहसिक र सुरक्षित पर्यटन गन्तव्यको रुपमा प्रस्तुत गरिएको हो । बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी र बोर्डका कार्यकारी निर्देशकले नेपालको समृद्ध र विविध पर्यटकीय क्षेत्र र गतिविधिबारे जानकारी दिँदै अमेरिकी पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरेका छन् ।

सोही कार्यक्रमका बीच नेपाल पर्यटन बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधार शिविरसम्मको पदयात्रा निःशुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी हुन् । उनले यही मार्चदेखि मेसम्ममा नेपाल भ्रमण गरिसक्नुपर्नेछ । नेपाल भ्रमणका क्रममा लाग्‍न खर्च बोर्डले बेहोर्ने भएको छ ।

यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रवर्धन र प्रचारका लागि थप मद्दत पुग्‍ने बोर्डको विश्वास छ । ‘ट्राभल एन्ड एड्भेन्चर शो-२०२५’ आधिकारिक वेबसाइट अनुसार नेपाललाई साहसिक यात्राको राजधानीको रुपमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, ‘विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल पर्वतारोहीका लागि उत्कृष्ट गन्तव्य हो । अद्भूत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरुका लागि अनुपम अनुभव प्रदान गर्दछ ।’

नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप-लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरुले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ ।

कोरोना महामारीपछि नेपालमा पर्यटकहरु भित्र्याउन नेपाल पर्यटन बोर्डले संसारका विभिन्‍न मुलुकमा पर्यटन प्रवर्धन, प्रचार र पर्यकीय गतिविधिहरुमा तीव्रता दिइरहेको छ । ‘ट्राभल एन्ड एड्भेन्चर शो-२०२५’ मा नेपालका ९ वटा निजी पर्यटन व्यवसायीहरुको सहभागिता थियो ।

नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।