काठमाडौं, फागुन २९ :

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सरकारले संसद्‍ र जनप्रतिनिधिलाई हेपिरहेको बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संदनमा एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै आपत्ति जनाए ।

बैठक सुरु भएलगत्तै प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाउँदै उठे बोल्न समयको माग गरे । सभामुख देवराज घिमिरेले समय दिएपछि पाण्डेले सरकारले जनप्रतिनिधिहरूलाई हेपिरहेको बताए ।

‘सरकार सदनलाई हेपिरहेको छ । सरकार जनप्रतिनिधिहरूलाई हेपिरहेको छ,’ प्रमुख सचेतक पाण्डेले भने । हरेक कुरामा सरकारले सदनलाई कम महत्व दिएको उनको भनाइ छ ।

‘त्यो एउटा कुरामा होइन, हरेक कुरामा हेपिरहेको छ । हाम्रा अभ्यासहरू सरकार मानिरहेको छैन । अहिले सदन सुरु भयो । तर, मन्त्रीहरू, सरकारको प्रतिनिधि कोही पनि छैनन्,’ पाण्डेले सभामुखको ध्यानाकर्षण गराए ।

संसदीय समिति र उपसमितिको बैठकहरूमा प्रतिपक्षी दलका सांसदहरू उपस्थित हुने तर सरकार उपस्थित नहुने गरेको उनले दाबी गरे ।

प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थितिविना सभाको बैठक चल्न नसक्ने बताएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।