काठमाडौं, फागुन ३० :

काठमाडौंसहित देशमा पहाडी क्षेत्रमा आज हर्सोल्लासपूर्वक होली पर्व मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो ।

होलीका अवसरमा आज काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षको होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो ।

यहाँ होली खेल्न युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्साहजनक सहभागिता थियो । होली मनाउनेको बजार तथा चोकमा पाक्लो चहलपहल देखिएको छ ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १५ जना पक्राउ परेका छन् । बिहीबार होली मनाउने क्रममा अभद्र व्यवहार देखाएको आरोपमा २ महिला र १३ पुरुष लाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पकनाजोलबाट २ महिला, न्युरोडबाट ३ पुरुष, कोटेश्वर चोकबाट ४ पुरुष, सिंहदरबार पश्चिम गेटबाट २ पुरुष र साँखु-मूलपानी क्षेत्रबाट १ पुरुष पक्राउ परेका छन् ।

ट्राफिक नियम उल्लंघन गर्ने १०५ सवारीसाधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न चोकमा कडाइका साथ जाँच गरिरहेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको हो । भोलि भने तराई-मधेसका क्षेत्रमा होली मनाइने गरिन्छ ।

यसै उपलक्ष्यमा सैनिक मञ्चअगाडिको खुला क्षेत्रमा सामूहिक रुपमा होली मनाइएको थियो । विशेष गरी युवा/युवती एकआपसमा रङ आदानप्रदान गर्दै उल्लासपूर्णरुपमा सो कार्यक्रममा सहभागी भएका थिए ।

आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

यो पनि...

होलीमा विदेशीको ‘स्माइल’ [फोटो फिचर]

मधेसमा सुनिन छोड्यो होलीको ‘जोगिरा’ : ‘डिजे’ बज्न थालेपछि मौलिकता हराउँदै

होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १५ जना पक्राउ, १०५ सवारीसाधन नियन्त्रणमा

अनुशासित भएर मनाइँदै होली : छ्यापिँदैन जबरजस्ती रङ र पानी

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

होलीले समाजमा एकता र शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ : उपराष्ट्रपति यादव

मध्यमा परिक्रमाले होलीमय मिथिला क्षेत्र
होलीलाई मध्यनजर गर्दै उपत्यकामा सवारी जाँचमा कडाइ
कुन देशमा कसरी मनाइन्छ फागु

वसन्तपुरमा होली उत्सव (फोटोसहित)