पाल्पा, चैत १ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेगरी आफ्नो मन्त्रालय अगाडि बढेको बताएका छन् । 

उनले सबैभन्दा धेरै प्रभाव पर्ने र सहज हुने सहरको पहिचान गरी तिनीहरूलाई व्यवस्थित गर्नेगरी मन्त्रालयले काम अगाडि बढाएको बताउनुभयो । 

आज नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता सिंहले अघिल्ला सरकारहरूले समेत अगाडि सारेको सहरी योजनालाई पूर्णता दिन आफूहरूले मन्त्रालयमा परामर्श गरिरहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले नागरिकका पक्षमा केन्द्रित रहँदै आशा जगाउने काम गरिरहेको पनि बताए । उपप्रधानमन्त्री सिंहले शिक्षा, स्वास्थ्य, रोजगार र व्यावसायिक क्षेत्रको सुधारमा सरकार योजना बनाएर अघि बढिरहेको उल्लेख गरे । 

स्वदेशमा सीप विकास, रोजगारीका अवसर सृजना गर्दै युवालाई स्वदेशमा बस्ने वातावरण बनाउने पक्षमा काम भइरहेकाले देश बनेन भनेर चिन्तित हुनुपर्ने अवस्था नभएको उनले दाबी गरे । 

लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको भन्दै उहाँले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।