काठमाडौं, चैत ३ :

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले  यौन व्यवसाय र गाँजा खेतीलाई वैधानिक रुपमा खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको विशेष समय सांसद् घिमिरेले नेपालमा यौन व्यवसायलाई वैध बनाउँदा रोजगारी सिर्जना र आर्थिक विकासमा ठुलो योगदान पुग्ने दाबी गरेका छन् ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने उनको धारणा थियो । उनले देशमा विदेशी पर्यटक ल्याउने उत्तम विकल्पका रूपमा यौन व्यवसाय भएको जिकिर गरे ।

त्यस्तै, घिमिरेले आर्थिक विकासको आधार गाँजाखेती भएकाले त्यसलाई वैधानिक बनाउन सरकारसँग माग गरे। साथै, उनले गाँजा खेतीलाई वैधानिक गर्दा कृषि क्षेत्रमा ठूलो अवसर सिर्जना हुने बताए । अमेरिकी राज्यहरूले यसलाई स्वीकृति दिएको भन्दै नेपालमा पनि हुनुपर्ने माग गरे ।

सरकारले मात्रै मेडिकल कलेज चलाउनुपर्छ भन्ने मानसिकता बोक्दा देशबाट विद्यार्थी विस्थापित हुने गरेको भन्दै सांसद घिमिरेले मेडिकल शिक्षामा निजी क्षेत्रलाई रोक्न नहुने बताए ।

उनले सरकारी एकलाधिकारको मानसिकतालाई गलत भन्दै, यस विषयमा सुधारको आवश्यकता रहेको बताए । ‘प्राइभेट कलेज खोल्नै नदिने अवस्था छ,’ उनले भने, ‘जसका कारण नेपाली विद्यार्थी विस्थापित भएर विदेश पढ्न जान बाध्य छन् ।’