
काठमाडौं स्कुल अफ ल (केएसएल) का विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका सञ्चालक डा. युवराज संग्रौलामाथि छानबिन गर्न समिति गठन गरिएको छ ।पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेका छन् ।
केएसएलले आइतबार पत्रकार सम्मेलन गरी समिति गठन बारेमा जानकारी दिएको हो । यो समितिलाई ‘तटस्थ जाँचबुझ समिति’भनिएको छ । पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि व्यवस्थापन समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको प्राध्यापक अञ्जनकुमार दाहालले जानकारी दिए ।
यसैबीच, पत्रकार सम्मेलनमा उपस्थित कार्यकारी निर्देशक संग्रौलाले आफूले पनि स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताएका छन् । कलेजको एक विद्यार्थीले संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् । दुर्व्यवहारमा परेकी भनिएकी ती छात्राले ५ डिसेम्बर २०२४ मा आफूले कलेजमा निवेदन दिएको बताएकी छन् ।