
बाँके, चैत ३ :
राष्ट्रिय मानवअधिकार आयोगको टोली बाँकेको जयेन्दु बाल सुधारगृहमा भएको झडपबारे छानबिन गर्न पुगेको छ।
टोलीले झडपका क्रममा घाइते भएका बालकलाई भेट्नुका साथै सुधार गृहमा गरिएको आगजनीको पनि निरीक्षण र अनुगमन गरेको छ । नियन्त्रणका लागि खटिएका प्रहरीमाथि भएको इँटा प्रहारको घटनाको पनि जानकारी लिएको छ ।
त्यस बाल सुधारगृहमा रहेका बालबन्दीहरूबीच शुक्रबार रातिदेखि शनिबार साँझसम्म झडप हुनुका साथै भवनमा आगजनीसमेत भएको थियो ।
टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको आयोगले जनाएको छ ।