
फाइल तस्बिर।
‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच उच्चस्तरको छलफलका लागि पहल गर्ने सहमति भएको छ । काठमाडौंमा आज भएको वार्तामा यस्तो सहमति जुटेको हो ।
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले आफूहरुले उच्चस्तरीय वार्ताको पहल गर्ने र आन्दोलनरत समूहले पनि उच्चस्तरको समिति बनाउने सहमति भएको बताए ।
भट्टराईले भने, ‘अहिलेको समितिका सदस्यहरू पर्याप्त छलफल गर्न सकेका छैनन्, त्यसैले अब अर्को चरणको वार्ता उच्चस्तरीय समिति मार्फत गर्न हुनेछ।’
आन्दोलनरत समूहले वार्ताका लागि राखेको केबलकार खारेजीको प्रस्ताव सरकारी समितिले आफूहरुबाट सम्भव नहुने भनेपछि समिति बनाउने निर्णय भएको नो केबलकार समूहबाट वार्तामा सहभागी आलोक माबोहाङले बताए ।
‘हामीले आफ्नो एकमात्र माग केबलकार परियोजना खारेज गर्ने राखेका थियौं,’माबोहाङले भने, सरकारी समितिले उक्त विषयमा कुरा गर्न असमर्थता व्यक्त गरे ।’ उनका अनुसार अर्को वार्ता ७ गते हुनेछ। आगामी वार्ता सरकार, केबलकार निर्माण कम्पनी र आन्दोलनकारी समूहबीच हुने जनाइएको छ ।
अर्को चरणको वार्ता कस्तो मोड लिन्छ, र यसले केबलकार परियोजनाको भविष्यलाई कसरी प्रभावित गर्छ, त्यो हेर्न बाँकी छ।