
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले एक्लै चुनाव जित्ने आधार बलियो बन्दै गएको दाबी गरेका छन् ।
जनतासँग माओवादी, तराई-मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरण सभामा उनले यस्तो धारणा राखेका हुन् । विगतमा कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरुले फाइदा लिने तर माओवादीले घाटा बेहोर्ने अवस्था रहेको उल्लेख गर्दै उनले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको बताए ।
गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको र कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरुको भाष्य खारेज भएको बताए ।
‘गत उपनिर्वाचनमा कांग्रेस-एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं,’ दाहालले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ । कैयौं ठुला क्याम्पसमा तीसौं वर्षदेखिका रेकर्ड तोडिएका छन् । युवा विद्यार्थीहरु अब प्रतिगमन र यथास्थितिको पक्षमा नभई अग्रगमन र परिवर्तनको पक्षमा छन् भन्ने स्ववियु निर्वाचनले स्पष्ट सन्देश दिएको छ ।’
अध्यक्ष दाहालले सरकारका गलत क्रियाकलापको फाइदा उठाएर प्रतिगामी शक्तिहरुले टाउको उठाउने दुस्साहस गरेको टिप्पणी गर्दै जनताको अधिकार रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताए । उनले पार्टीले अघि बढाएको तराई-मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाएको दाबी गरे ।
अभियानले तराई-मधेसमा बस्ने जनताको पहिचान, आत्मसम्मान र अधिकारलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै उनले माओवादी र मधेसी जनताको बीचमा गहिरो सम्बन्ध स्थापित हुने बताए । अभियानका क्रममा यस क्षेत्रका जनताका समस्याको गहिरो अध्ययन गरी समाधानका लागि पहल गर्ने पनि उनले बताए ।
हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन पनि अभियानले सहयोग गर्ने बताए ।