
गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र विश्वभर करिब नौ हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । यो रोकथाम योग्य भएपनि सहन नसकिने पीडा भएको राष्ट्रसङ्घले शुक्रबार बताएको हो ।
सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले जनाएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का उपनिर्देशक उगोची डेनियल्सले विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै रहेको बताएका छन् ।
डेनियल्सले क्षति विनाशकारी भएको तर हरेक मृतक सङ्ख्याको पछाडि कही न कही मानवीय कमजोरी नै कारक रहेको उल्लेख गरेका छन् ।
आईओएमले भनेको छ, आप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक सख्या धेरै बढी हुन सक्छ, किनकि आधिकारिक स्रोतको अभावका कारण धेरै जना कागजातविहीन ठहर भएका छन्।”
अधिकांश पीडितको पहिचान र अन्य विवरण अज्ञात रहेको बताइएको छ ।
सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः दुई हजार ७ ७८, दुई हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।
युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ ।
अमेरिकाको अन्तिम तथ्याङ्क उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार २३३ जनाको मृत्यु भएको छ ।
यसमा “सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो र कोलम्बिया र पनामाको बीचमा डेरिएन जङ्गल पार गर्ने १७४ जना आप्रवासीहरूको मृत्यु रेकर्ड भएको थियो ।
डारिएन जङ्गल कुनै समय संयुक्त राज्य अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो । -रासस/ एएफपी