
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन अघि बढाइएको छ ।
सहारा चितवन सहकारी ठगीको कसुरमा मात्रै रविलाई मुद्दा चलाएको भन्दै जिल्ला न्यायाधिवक्ता चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले अभियोगपत्रको विषयलाई लिएर लुँइटेलमाथि छानबिन सुरु भएको पुष्टि गर्दै नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको बताए ।
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा चलाएको भन्दै लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा रातारात सरुवा गरिएको छ । चितवनमा रवि आफैंले ऋण लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका छन् ।
यस्तो निर्णयसँगै महान्यायाधिवक्ता कार्यालय पुन: विवादमा तानिएको छ । यसअघि पनि महान्यायाधिवक्ता रमेश बडालले बाँसबारीको सरकारी जग्गा प्रकरणमा मुद्दा नचल्ने निर्णय गरेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ हुँदै उच्च सरकारी वकिल कार्यालय पाटनबाट आएको प्रतिवेदनलाई महान्यायाधिवक्ता बडालले सदर गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीसहित चौधरी ग्रुप जोडिएको उक्त प्रकरणमा सरकारी वकिलको उक्त निर्णयसँगै अब मुद्दा नलाग्ने भएको हो । चौधरीलाई उन्मुक्ति दिनकै लागि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिइएको थियो ।
यो पनि…
रास्वपाले संसद्मा सभापति लामिछानेको विषय उठाउने
रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइयो