माघ २४ :

चितवन । सहारा चितवन सहकारी ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ ।

चितवन जिल्ला अदालतमा बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

बुधबार सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी र बुद्धबहादुर थापाको बहस सकिएको छ ।

त्यसैगरी जाहेरवालाका तर्फबाट चार जनामध्ये अधिवक्ता रमेश काफ्लेको मात्र बहस सकिएको छ ।

प्रतिवादी रवि लामिछानेका तर्फबाट १० जना कानुन व्यवसायीले बहस गर्न वकालतनामा दर्ता गराएका छन् । बाँकी कानुन व्यवसायीहरूको बहस बिहीबारबाट फेरि सुरु हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।

रविसँग करिब ४ घण्टासम्म बयान लिइएको थियो । उनी कार्यालय समयमै अदालत उपस्थित भएका थिए । सहारा चितवन सहकारी ठगी प्रकरणमा मंगलबार रविसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा रविसहित ३२ जनाविरुद्ध  ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

यो पनि…

रविलाई संगठित अपराधमा मुद्दा नचलाएकामा न्यायाधिवक्ता लुइँटेलमाथि छानबिन

रास्वपाले संसद्‌मा सभापति लामिछानेको विषय उठाउने