भदौ ५ :

काठमाडौं । नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले स्वाधीनता, सार्वभौमिकतामा देश ठुलो-सानो नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले हालै भारत र चीनबीच लिपुलेक नाकामा दुईदेशीय व्यापार सहमति भएकोमा आपत्ति जनाउँदै यस्तो बताएका हुन् । उनले लिपुलेक क्षेत्र नेपालको अभिन्न भूभाग भएको दाबी गरे । नेपाल सरकारको स्वीकृतिबिना त्यस क्षेत्रमार्फत कुनै पनि अन्तरदेशीय व्यापार स्वीकार्य नहुने बर्तौलाले स्पष्ट पारे ।

‘नेपालका भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारत-चीनबीच भएको सहमतिको विरोध गर्छौं,’ उनले भने, ‘देशको स्वाधिनता र सार्वभौमिकतामाथि आँच आउने कुनै पनि गतिविधिको प्रतिवाद गरिन्छ ।’

मुख्य सचेतक बर्तौलाले परराष्ट्र मन्त्रालयमार्फत भारत-चीनका विदेशमन्त्रीबीच बुधबार भारतीय विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको धारणामा लिपुलेक र कालापानीको भूमि हुँदै सीमा व्यापार गर्ने कुराप्रति गम्भीर ध्यानाकर्षणसमेत गराए ।

‘भूगोल, अर्थतन्त्र, जनसङ्ख्यामा देशहरु सानो ठूलो हुनसक्छ तर नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो,’ उनले भने, ‘देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमा कसैबाट आघात हुने काम भएको सहन सक्दैनौं ।’ उनले नेपालको भूमिमाथि नेपालको सहभागिता, स्वीकृति र जानकारीबिना दुई देशका विदेशमन्त्रीस्तरीय बैठकले सीमा व्यापार गर्ने विषयमा भएको सम्झौताको नेकपा एमाले संसदीय दलको तर्फबाट गम्भीर विरोध र असहमति जनाए ।