काठमाडौं, चैत १३ :

नेपाली चलचित्र ‘डोरी’ यही शुक्रबार (चैत १५) गतेदेखि देशभरका सिनेमा घरमा प्रदर्शनमा आउँदै छ ।

प्रदर्शन मिति नजिकिँदै गर्दा, चलचित्रका अभिनेता वीरेन्द्रसिंह कुशवाह अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखापरेका छन् । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहलाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, जसले विभिन्न चर्चाहरू जन्माएको छ ।

चलचित्र ‘डोरी’ को प्रचार रणनीतिअन्तर्गत गरिएको यो गतिविधिले सर्वसाधारणको ध्यान आकर्षित गर्न सफल भएको छ । निर्देशक अरुण लामाले चलचित्रको कथावस्तुअनुसार चलचित्रको प्रचार दर्शकसम्म पुर्‍याउन यस्तो विधि अपनाइएको बताए । यसअघि सार्वजनिक ट्रेलरमा वीरेन्द्रलाई यही गेटअपमा देखाइएको छ, जसबाट चलचित्र निकै रोचक रहेको लख काट्न सकिन्छ ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैंले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्रसिंह कुशवाह, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।

चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा हुन् । चलचित्रको स्क्रिप्ट मनोज पण्डितले लेखेका हुन् । मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज शिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ संयोजक रेनिश फागो रहेका छन् ।