काठमाडौं, चैत १५ :

राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार दुईजनाले अनाहकमै ज्यान गुमाउनुपर्‍यो । जसमा एकजनाको जलेर मृत्यु भयो भने अर्काको गोली लागेर ज्यान गयो ।

ज्यान गुमाउनेमा एकजना प्रदर्शनकारी थिए भने अर्का टीभी पत्रकार थिए । काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले अनाहकमै ज्यान गुमाउनुपर्‍यो ।

तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवं नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका ४, गाम्चाका २९ वर्षीय सविन महर्जनले ज्यान गुमाएका हुन् ।

प्रहरीको गोली लागेको महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार घाइते महर्जनको घाँटीमा गोली लागेको थियो । महर्जनको मृत्युबारे गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले पनि जानकारी दिए ।

पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल ।

यस्तै राजावादीहरुको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकले पनि ज्यान गुमाउनुपर्यो । प्रदर्शनकारीहरुले तीनकुनेमा रहेको एक घरमा आगलागी गरेपछि त्यही घरबाटै भिडियो खिचिरहेका रजकको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रजकले आगलागीमा परेको घरबाट एभिन्युज टेलिभिजनमा लाइभ गरिरहेका थिए । प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी २५ भन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीको आगजनी र तोडफोडबाट करोडौंको क्षति भएको छ ।

प्रदर्शनकारीहरुले सञ्चारगृहलाई पनि तारो बनाए । प्रदर्शनका क्रममा उनीहरुले तीनकुनेमा रहेको कान्तिपुर टेलिभिजनको कार्यालय र अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

अराजक रुपमा प्रस्तुत भएका प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रमा रहेका व्यक्तिका घर, पसल तथा सडकमा ट्राफिक प्रहरीका लागि बनाइएको संरचनामा समेत क्षति पुर्‍याएका छन् ।

राजावादी आन्दोलनकारीहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेमा रहेको कार्यालयको चौथो तलासम्म ढुंगा प्रहार गरी सिसाका झ्याल फुटाएका छन् । कान्तिपुर डेक्समा कार्यरत अमृत दाहालका अनुसार ४ बजेको बुलेटिनका लागि समाचार तयार पारिरहेका बेला ढुंगा, इँटा र बोत्तल प्रहार भएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्न बचियो आज । ४ बजेको बुलेटिन तयार पारिरहेका बेला कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगा, इँटा र बोतल बज्रिए । ढुंगा कानको छेवैबाट आएर बज्रियो । ढिला गरी सुरक्षाकर्मी आएपछि स्थिति नियन्त्रणमा आयो ।’

कान्तिपुर टेलिभिजनको भवनमा भएको तोडफोड । तस्बिर : अमृत दाहाल

यसैगरी राजावादीहरुले अन्नपूर्ण पोस्टको पहिलो तलामा आगजनीसमेत गरेको अन्नपूर्ण नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले जनाएका छन् । उनले राजावादीहरुको प्रदर्शन र शैलीलाई अराजक भनेका छन् । अन्नपूर्ण पोस्टको कार्यालयमा गरिएको आगजनी त्यहाँका सुरक्षागार्डले निभाएका छन् । साथै प्रदर्शनकारीहरुले ढुंगा प्रहारबाट कार्यालयका सिसा फुटेका छन् ।