
मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ६ मा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेका छन् ।
कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागुऔषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ ।
अफिम कारोबारीहरू त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
लागुऔषध कारोबारीसहितका १०–१५ जनाको समूहले हुल हुज्जत गरी पेस्तोल लुटेर लगेको भन्दै उनले पेस्तोल र लुटपाटमा संलग्नहरूको खोजी कार्य भइरहेको बताए ।
हवलदार तामाङ र सहायक हवलदार मग्राती लागू औषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागू औषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए ।
घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि हतियार अझै फेला नपरेको जनाएको छ । प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न रहेको र पेस्तोल खोजी कार्य भइरहेको बताए।