काठमाडौं, चैत १९ :

लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको चलचित्र ‘कर्मा’ को गीत सार्वजनिक भएको २४ घण्टामै युट्युब ट्रेन्डिङमा परेको छ ।

सुशान्तको युट्युब च्यानलबाट हिजो (सोमबार) सार्वजनिक गरिएको ‘पागल’ बोलको गीत युट्युबको म्युजिक सेक्सनअर्न्तगत ७ नम्बर ट्रेन्डिङ कब्जा गरेको छ ।

‘म पागलजस्तै भइसकें...’ प्रेमिल गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ । सिनेमाको गीत सार्वजनिक भएसँगै ‘कर्मा’को हाइप पनि बढेको छ ।

सार्वजनिक गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । जसको उदाहरण २४ घण्टा नहुँदै युट्युब ट्रेन्डिङ कब्जा गर्नु । यो समाचार तयार पार्नेबेलासम्म गीतलाई करिब ३ लाख ३० हजार दर्शकले हेरिसकेका छन् ।

चलचित्रका लागि पहिलोपटक गीत गाएका गायक केसीले अहिलेको युवापुस्ताले रुचाउने खालको गीत तयार पारेका छन् । फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो किल्प नै दर्शकले औधी मन पराएका छन् ।

गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ ।

सुशान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । विपिन कार्की र उपासनासिंह ठकुरीले भिडियोमा अभिनय गरेका छन् । एक-अर्काप्रतिको गरेको माया गीत र भिडयोमा देख्न सकिन्छ ।

विपिनले उपासनालाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।

सिनेमाको फुटेज भिडियोमा प्रयोग गरिएको छ । सिनेमाका कलाकारको जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् ।

नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘कर्मा’ नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदै छ ।

चलचित्र ‘कर्मा’मा विपिन र उपासनासँगै मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भीएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, साहिल खानको टिजर-ट्रेलर, विजय बस्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्य : च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

यो पनि…

सुशान्तले गाएको ‘कर्मा’ को गीतमा उपासनालाई विपिन भन्दै छन्- म पागलजस्तै भइसकेँ
दुर्गेश पनि गाए ‘कर्मा’ को गीत