शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य शिक्षा

माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययनको वातावरण मिलाउन न्युयोर्कमा द्विपक्षीय वार्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययनको वातावरण मिलाउन न्युयोर्कमा द्विपक्षीय वार्ता
न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँग वार्ता गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल । साथमा नेपाली स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापासहितका नेपाली अधिकारी । तस्बिर : स्वास्थ्यमन्त्री पौडेलको सचिवालय
काठमाडौं, चैत २७ :

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकलाई नेपालमा स्नातकोत्तर पीजी शिक्षा उपलब्ध गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्युयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ताका क्रममा यसअघि त्यहाँका स्वास्थ्यमन्त्रीसँगको वार्तामा भएका कुराकानीका आधारमा अध्ययनका लागि समिति गठन गरेर काम भइरहेको बताए ।

वार्ताका क्रममा स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर रहेको र नेपालमा अनुकूल महसुस गर्ने भएकाले त्यहाँका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरु इच्छुक रहेको बताइन् । उनले चिकित्सकका लागि नेपाल राम्रो गन्तव्य रहेको बताएकी थिइन् ।

जवाफमा मन्त्री पौडेलले यथाशीघ्र तयारी पूरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनसमेत नेपाल तयार रहेको बताए ।

मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलिलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए ।

माल्दिभ्सले नेपालले वातावरण बनाएमा पीजी विद्यार्थी पठाउने बताएपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए ।

सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आशयको प्रतिवेदन दिएको थियो ।

सोही आधारमा मन्त्री पौडेलले सम्झौताको तयारी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल संयोजकत्वको सात सदस्यीय समिति गठन गरेका थिए । सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन मन्त्री पौडेलले समितिमार्फत सुझावको अपेक्षा गरेका छन् ।

विदेशी विद्यार्थी अध्ययन गर्ने वातावरण तयार पार्न सकिएमा नेपालका मेडिकल कलेजहरुको आयमासमेत वृद्धि हुने र मेडिकल शिक्षाको स्तर सुधार गर्न समेत सकिने मन्त्री पौडेलको विश्वास छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार