रुपन्देही, चैत २७ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न सुझाव दिएका छन् । 

रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा नलाग्न सुझाव दिएका हुन् ।

सरकारको कामको गति नपुगेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई ढिलासुस्तीरहित कार्यसम्पादन गर्न सुझाए । ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस्,’ उनले भने,  ‘तपाईंहरू काम गर्नुस् । त्यो प्रचार गर्ने काम हामीहरू गरिहाल्छौं ।’