काठमाडौं, चैत २८ :

नेपाल क्योकुसिन कराते (इको) संघले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले दावालाई २५ हजार नगदसहित प्रशंसा-पत्र प्रदान गरी सम्मान गरे ।

जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।

सोही प्रतियोगिताका दौरान फेब्रुअरी २५ मा भएको अन्तर्राष्ट्रिय कराते संगठन क्योकुसिनकाइ-कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष पदमराज सुवेदी, उपाध्यक्ष नन्दकुमार किरातीलगायतको उपस्थिति थियो ।