सियरा लियोनको राजधानी फ्रिटाउनको मध्यभागमा अवस्थित राष्ट्रपति भवनमा शनिबार अपराह्न भीषण आगलागी भएको छ। प्रत्यक्षदर्शी र सरकारी स्रोतका अनुसार स्थानीय समयअनुसार साँझ ४:०० बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन अग्निनियन्त्रकहरूलाई पाँच घण्टा लागेको थियो।
आगो लाग्दाखेरि राष्ट्रपति जुलियस माडा बायो देशबाहिर टर्कीमा एक सम्मेलनमा सहभागी भइरहेकाले हुँदा भवनमा थिएनन्।
दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपी समाचार संस्थालाई जानकारी दिँदै आगलागी नियन्त्रणमा लिइएपनि भवनभित्र रहेका महत्वपूर्ण कागजात र फर्निचर जलेर नष्ट भएको पुष्टि गरे।
सूचना मन्त्रालयद्वारा जारी विज्ञप्तिमा स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोटसहितको आगलागी भएको उल्लेख गरिएको छ भने दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालय भने सुरक्षित रहेको बताइएको छ।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। यद्यपि सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूमा भवनको माथिल्लो तलाबाट बाक्लो कालो धुवाँ र ज्वाला निस्किरहेको देखिन्छ।
प्रहरी र सुरक्षाकर्मीले घटनास्थल वरपरका सडकहरू घेराबन्दी गरी आवागमन रोक्का गरेका थिए भने सुरक्षाको उच्च सतर्कता अपनाइएको थियो।अधिकारीहरूले आगलागीमा मानवीय क्षति नभएको जनाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।