काठमाडौं, भदौ २५ :

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी अर्थात् गोकर्णे औँसी शुक्रबार वैदिक सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस दिन वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने, जीवित बाबुलाई सम्मान गर्दै मिठा परिकार खुवाउने तथा दिवंगत बाबुको स्मरणमा तर्पण र श्राद्ध गर्ने परम्परा छ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। कुशे औँसीका दिन उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय विश्वास रहेको छ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीहरूसँगै पवित्र कुशको पनि उत्पत्ति गराउनुभएको विश्वास गरिन्छ। त्यसैले कुशलाई धार्मिक कर्मकाण्डमा अत्यन्त पवित्र वस्तुका रूपमा प्रयोग गरिँदै आएको छ।

कुशे औँसीलाई गोकर्णे औँसी तथा पितृ औँसीका नामले पनि चिनिन्छ। ‘पितृदेवो भवः’ भन्ने मान्यताअनुसार यस दिन जीवित बाबुलाई छोराछोरीले आफूलाई मनपर्ने भोजन तथा मिठाई खुवाएर सम्मान गर्ने र आशीर्वाद लिने चलन छ। बाबु दिवंगत भइसकेकाहरू भने विभिन्न तीर्थस्थलमा पुगेर उनको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।

विशेषगरी काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसर र रसुवाको वेत्रावतीमा दिवंगत बाबुको नाममा तर्पण तथा श्राद्ध गर्नेहरूको ठूलो भीड लाग्ने गर्छ। गोकर्णलाई उत्तरगयाका रूपमा समेत लिइने भएकाले पितृकार्यका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू यहाँ आउने गर्छन्। यद्यपि यसवर्ष भोटेकोसीमा आएको बाढीका कारण वेत्रावती क्षेत्र प्रभावित भएकाले त्यहाँको परम्परागत मेला सञ्चालन हुने विषय भने अन्योलमा रहेको छ।

गोकर्णमा पितृ तर्पणको धार्मिक परम्परा

गोकर्णेश्वरको प्राचीन मन्दिर बागमती नदीको किनारमा अवस्थित छ। यसको स्थापना किरातकालसँग जोडिएको धार्मिक तथा ऐतिहासिक मान्यता पाइन्छ। गोकर्णेश्वर आसपासको क्षेत्र प्राचीन समयदेखि नै धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिँदै आएको छ।

गोकर्णमा पितृ तर्पण गर्ने परम्परासँग जोडिएको एउटा प्रचलित पौराणिक कथा पनि छ। कथाअनुसार प्राचीन समयमा नेपाल उपत्यकामा एक वेश्या महिलाको कोखबाट दन्तुर नामका बालक जन्मिएका थिए। बाबुको पहिचान नखुलेका कारण उनले बाल्यकालदेखि नै सामाजिक तिरस्कार र मानसिक पीडा भोग्नुपरेको थियो।

ठूलो भएपछि दन्तुरले आमासँग आफ्नो बाबुको परिचयबारे बारम्बार सोध्न थाले। तर आमाले बाबुको पहिचान बताउन नसकेपछि उनी बाबुको खोजीमा विभिन्न ठाउँमा भौँतारिए। अन्ततः एक ऋषिको आश्रममा पुगेका दन्तुरले आफ्नो समस्या सुनाएपछि ऋषिले गोकर्णेश्वरमा गई बागमतीमा स्नान गरेर पितृलाई तर्पण दिन र गोकर्णेश्वर महादेवको आराधना गर्न सुझाव दिए।

ऋषिको सल्लाहअनुसार दन्तुरले गोकर्णमा पुगेर नियमित स्नान, तर्पण र शिवपूजा गर्न थाले। एक दिन उनले बागमतीमा स्नान गरी पितृलाई पिण्ड अर्पण गर्ने क्रममा पितृलोकबाट आएका सबै पितृले पिण्ड ग्रहण गरेको कथामा उल्लेख छ। तीमध्ये आफ्नो बाबुलाई चिन्न नसकेपछि पुरोहितले उनलाई बाबु चिनाइदिएको र त्यसपछि दन्तुरले विधिपूर्वक पितृकार्य सम्पन्न गरेको धार्मिक कथन छ।

यही घटनासँग जोडेर गोकर्णको बागमती किनारलाई पितृतीर्थका रूपमा मान्यता दिइएको र भाद्र कृष्ण औँसीलाई पितृ तथा बाबुको सम्मान गर्ने विशेष दिनका रूपमा मनाउन थालिएको विश्वास गरिन्छ।

कुशे औँसीका अवसरमा गोकर्णेश्वर क्षेत्रमा विभिन्न समुदायका श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने गर्छ। अघिल्लो दिनदेखि नै टाढा–टाढाबाट आएका भक्तजन गोकर्णमा बास बस्ने, रातभर दीप प्रज्वलन, भजन तथा कीर्तन गर्ने र भोलिपल्ट पितृ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ।

हिन्दु धर्मावलम्बीसँगै काठमाडौं उपत्यकाका विभिन्न बौद्ध समुदाय तथा अन्य जातजातिले समेत आ–आफ्नो परम्पराअनुसार यस अवसरमा पितृको स्मरण गर्ने गरेका छन्। गोकर्णको बागमती किनार तथा आसपासका क्षेत्रमा उपाध्याय ब्राह्मणबाट पिण्ड तथा तर्पण गराउनेदेखि बौद्ध परम्पराअनुसार घेवा तथा श्राद्ध गर्नेहरूको समेत उपस्थिति देखिन्छ।

यसले गोकर्णे औँसीलाई धार्मिक आस्थासँगै नेपालका विभिन्न समुदाय र संस्कृतिबीचको सहअस्तित्व तथा सांस्कृतिक समन्वयको पर्वका रूपमा समेत स्थापित गरेको छ।

पितृकार्यका लागि गोकर्ण आउने श्रद्धालुहरू बागमतीमा स्नान गरी गोकर्णेश्वर महादेवको दर्शन गर्छन्। दिवंगत बाबुको नाममा पिण्डदान, तर्पण तथा सिदादान गरेपछि ब्राह्मण भोजन गराउने परम्परा पनि रहेको छ।

बाबुको मुख हेर्ने दिन

कुशे औँसीलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। जीवित बाबु भएका छोराछोरीले बाबुलाई आफूलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन्। बाबुको आशीर्वाद लिएर दिनलाई विशेष बनाउने चलन छ।

विशेषगरी विवाहपछि माइतीघरबाट टाढा पुगेका छोरीहरूका लागि यो दिन भावनात्मक रूपमा महत्वपूर्ण मानिन्छ। बाबुको मुख हेर्ने बहानामा छोरीहरू माइतीघर पुग्ने, बाबुलाई मिठाई तथा उपहार दिने र आशीर्वाद लिने परम्परा नेपाली समाजमा अझै जीवित छ।

बाबु दिवंगत भइसकेकाहरू भने गोकर्णलगायत पवित्र तीर्थस्थलमा पुगेर उनको नाममा श्राद्ध, तर्पण तथा सिदादान गर्छन्। यसरी कुशे औँसीले जीवित बाबुप्रतिको सम्मान र दिवंगत पितृप्रतिको श्रद्धा दुवैलाई एउटै धार्मिक तथा सांस्कृतिक परम्परामा जोडेको छ।

कुशे औँसी केवल धार्मिक कर्मकाण्डमा सीमित पर्व नभई परिवार, पितृप्रति कृतज्ञता, पुस्ताबीचको सम्बन्ध र नेपाली समाजको सांस्कृतिक एकताको प्रतीकका रूपमा समेत मनाइँदै आएको छ।  (रवि चालिसेको हाम्रा चाडपर्व पुस्तकको सहयोगमा तयार पारिएको हो)