काठमाडौं, साउन ३१ :

‘नागपञ्चमी पर्व’ नेपाली समाजमा प्राचीनकालदेखि नै विशेष महत्त्व बोकेको चाड हो।  भोलि श्रावण शुक्ल पञ्चमीका दिन यो पर्व मनाइँदैछ । 

नागपञ्चमीका दिन सनातन धर्मावलम्बीले घरको मूलढोकामा नागको चित्र टाँस्ने चलन छ। दीप, कलश र गणेशको पूजा गरेपछि गाईको गोबरबाट नागको आकृति बनाई वा कागजमा नागका चित्र टाँसी दूध, दही, दुबो, कुश, सिन्दूर, चन्दन, फूल, फलफूल तथा प्रसाद चढाएर पूजा गरिन्छ। नागको पूजा गरी घरको मूलढोकामा नागको चित्र टाँस्नाले सर्पको भयबाट रक्षा हुने धार्मिक विश्वास छ। कतिपय ठाउँमा गाईको दूध उपलब्ध नहुँदा चामलको पिठोलाई पानीमा घोलेर दूधको प्रतीकका रूपमा चढाउने चलनसमेत पाइन्छ। 

नेपालका विभिन्न स्थानमा नागपञ्चमीका आ–आफ्नै स्थानीय परम्परा छन्। टौदह आसपासका बासिन्दाले कर्कोटक नागको पूजा गर्ने र राम्रो वर्षा तथा पानीका लागि प्रार्थना गर्ने चलन छ। कतिपय किसानले आफ्ना दुधालु गाईलाई नदी वा जलाशयमा लगेर नागको पूजा गर्ने तथा राम्रो मौसम र खेतीका लागि प्रार्थना गर्ने परम्परा पनि पाइन्छ। घर, गोठ र कोठाका ढोकामा नागका चित्र टाँस्नु, पञ्चोपचारले पूजा गर्नु र दूध चढाउनु यस पर्वका सामान्य विधि हुन्।

नागपञ्चमी पनि धार्मिक, पौराणिक, सांस्कृतिक र कृषि–पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण पर्वका रूपमा स्थापित भएको देखिन्छ। यो हाम्रो सांस्कृतिक जीवनको एउटा महत्त्वपूर्ण चाड हो। नेपाल कृषिप्रधान देश भएकाले कृषि, वर्षा, प्रकृति र जनजीवनमा प्रभाव पार्ने विभिन्न प्राकृतिक तथा सामाजिक घटनालाई चाडपर्व र उत्सवका रूपमा मनाउने परम्परा रहिआएको छ।

नागको सम्बन्ध वर्षासँग रहेको र नागलाई धनसम्पत्तिको रक्षकका रूपमा समेत मानिने भएकाले यस पर्वले नेपाली जनजीवनमा विशेष स्थान पाएको हो। हाम्रो संस्कृति र कलामा पनि नागको उपस्थिति उल्लेखनीय छ। मन्दिरका टुँडाल, झ्याल, ढोका तथा विभिन्न कलाकृतिमा नागका आकृतिहरू कुँदिएका पाइन्छन्। यसले नागप्रतिको हाम्रो श्रद्धा केवल एउटा दिनको पूजामा सीमित नभई जीवनका अनेकौँ पक्षसँग जोडिएको देखाउँछ।

काठमाडौँ उपत्यकाको इतिहास र किंवदन्तीमा पनि नागको प्रसङ्ग जोडिएको पाइन्छ। प्राचीन समयमा काठमाडौँ उपत्यका ठूलो जलाशयका रूपमा रहेको र यहाँ नागहरूको क्रीडास्थल रहेको जनविश्वास छ। मञ्जुश्रीले चोभारको निकास खोली पानी बाहिर पठाएपछि उपत्यकामा मानव बस्ती र राज्य निर्माण भएको कथन पाइन्छ। त्यस क्रममा कर्कोटक नागले भने टौदह आसपासमा बसोबास गरी देशको धन–सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी पाएको विश्वास गरिन्छ। आज पनि टौदहसँग कर्कोटक नागको सम्बन्ध जोडेर पूजा गर्ने परम्परा छ।

हिन्दू धर्ममा नागको विशेष धार्मिक महत्त्व छ। भगवान् शिवले नागलाई गहनाका रूपमा धारण गर्नुहुन्छ भने भगवान् विष्णुले शेषनागलाई शैयाका रूपमा प्रयोग गर्नुभएको पौराणिक मान्यता छ। बौद्ध परम्परामा पनि नागलाई श्रद्धापूर्वक स्मरण गरिन्छ। पञ्चध्यानी बुद्धमध्ये अमोघसिद्धिलाई नागफणाले संरक्षण गरेको प्रतीकात्मक चित्रण पाइन्छ। यसरी नाग हिन्दू र बौद्ध दुवै धार्मिक–सांस्कृतिक परम्परामा महत्त्वपूर्ण प्रतीकका रूपमा स्थापित छन्।

पुराणमा कश्यप ऋषिकी पत्नी कद्रुका सन्तानका रूपमा वासुकी, तक्षक, कुलिक, कर्कटक, पद्म, शङ्खचूड, महापद्म र धनञ्जय गरी आठ नागको उल्लेख पाइन्छ। श्रावण शुक्ल पञ्चमीलाई यिनै नागहरूको पूजा गर्ने विशेष दिनका रूपमा लिइन्छ। नाग बस्ने जलाशयलाई ‘नागदह’ भन्ने परम्परा पनि छ। यसैले नेपालका विभिन्न नागदह तथा जलाशयसँग नागपूजाको सांस्कृतिक सम्बन्ध रहँदै आएको छ।

नागपञ्चमीसँग जोडिएको एउटा प्रसिद्ध लोककथा किसान परिवारसँग सम्बन्धित छ। किंवदन्तीअनुसार कुनै समय एक किसानले खेत जोत्ने क्रममा अज्ञानवश तीनवटा सर्पका बच्चा मारिदिए। आफ्ना बच्चाको मृत्युबाट दुःखी नागिनीले प्रतिशोध लिँदै किसानका घरमा पुगेर किसान दम्पती र उनका दुई छोरालाई डसी। घरमा बाँकी रहेकी किसानकी छोरीलाई पनि डस्न नागिनी अघि बढिन्। तर सर्पलाई दूध प्रिय हुन्छ भन्ने जानेकी ती बालिकाले नागिनीका अगाडि दूधले भरिएको घडा राखेर श्रद्धापूर्वक पूजा गरिन्।

बालिकाको व्यवहारबाट प्रसन्न भएकी नागिनीले उसको इच्छा पूरा गर्ने वचन दिइन्। बालिकाले आफ्ना मृत बाबुआमा र भाइहरूलाई पुनर्जीवन दिन तथा कुनै पनि मानिसलाई सर्पले नडसोस् भन्ने वरदान मागिन्। बालिकाको परोपकारी भावनाबाट अझ प्रसन्न भएकी नागिनीले किसान परिवारलाई पुनर्जीवन दिँदै नागको पूजा गर्ने मानिसलाई सर्पको भयबाट अभय हुने वरदान दिएको कथन छ। यही लोकविश्वाससँग नागपञ्चमीमा नागलाई दूध चढाउने र पूजा गर्ने परम्परा जोडिएको मानिन्छ।

धार्मिक तथा पौराणिक विश्वाससँगै नागपञ्चमीको व्यवहारिक महत्त्व पनि छ। सर्पलाई केवल भयको प्रतीकका रूपमा हेर्नुभन्दा प्रकृतिको महत्त्वपूर्ण जीवका रूपमा बुझ्न आवश्यक छ। सबै सर्प विषालु हुँदैनन्। सर्पहरूले मुसा तथा अन्य साना जीवको संख्या नियन्त्रण गर्न सहयोग गर्ने भएकाले कृषि र पर्यावरणीय सन्तुलनमा पनि तिनको भूमिका हुन्छ। त्यसैले नागपूजालाई प्रकृति र जैविक विविधताप्रतिको सम्मानका रूपमा पनि बुझ्न सकिन्छ।

नागपञ्चमी वर्षा ऋतु र कृषि जीवनसँग पनि गहिरोसँग जोडिएको छ। परम्परागत नेपाली जनजीवनमा नागपञ्चमीपछि वर्षायामको अन्त्यतिर प्रवेश गरेको अनुभूति गरिन्छ। पर्याप्त वर्षा भएर खेतबारीमा बाली लगाइसकेका किसानका लागि यो समय केही फुर्सद र उत्सवको समय पनि हो। त्यसैले वर्षा, खेतीपाती र नागलाई आपसमा जोडेर नागपञ्चमीलाई कृषि समाजले विशेष चाडका रूपमा आत्मसात् गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ।

हाम्रो लोकविश्वासमा नागलाई वर्षाको प्रतीकका रूपमा पनि लिइन्छ। आकाशमा कालो बादल मडारिँदा त्यसमा नागको आकृति देख्ने र बादलको गर्जन तथा वर्षालाई नाग र गरुडको युद्धसँग जोडेर कल्पना गर्ने परम्परा नेपाली लोकजीवनमा पाइन्छ। यसरी प्रकृतिका घटनालाई धार्मिक र सांस्कृतिक प्रतीकसँग जोडेर बुझ्ने हाम्रो परम्पराले नागपञ्चमीको स्वरूप निर्माणमा पनि भूमिका खेलेको देखिन्छ। ज्योतिषीय विश्वासमा राहु र केतुसँग नागको सम्बन्ध जोडिने भएकाले नागपञ्चमीका दिन नागदेवताको पूजा तथा भगवान् शिवको आराधना गर्दा ग्रहदोषबाट मुक्ति पाइने धार्मिक विश्वास पनि छ।

नागसँग जोडिएका अनेकौँ किंवदन्तीमध्ये नागमणिको कथा पनि चर्चित छ। नागबाट बहुमूल्य र दुर्लभ नागमणि प्राप्त हुन्छ भन्ने जनविश्वास नेपाली समाजमा लामो समयदेखि रहँदै आएको छ। पशुपति क्षेत्रमा आज पनि पशुपति मन्दिरको भित्रपट्टि रहेको स्थानमा नागमणि अझ पनि छँदैछ सो नागमणि प्रत्येक बाला चतुर्दशीकोभोलिपल्ट को दिन  सर्वसाधारणको लागि देखाउने चलन पनि छँदैछ । कुण्डलीमा राहु, केतुको दोष भएकाहरुले पनि यस दिनमा विधिवत् रुपमा भगवान शिवको पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वासछ  । यस्ता कथाहरूलाई वैज्ञानिक तथ्यभन्दा लोकविश्वास र सांस्कृतिक परम्पराका रूपमा बुझ्नुपर्छ। यिनले भने हाम्रो समाजमा नागप्रतिको श्रद्धा र रहस्यबोध कति गहिरो थियो भन्ने देखाउँछन्।

यसरी हेर्दा नागपञ्चमी केवल सर्पको पूजा गर्ने धार्मिक पर्व मात्र होइन। यो हाम्रो पौराणिक चेतना, लोककथा, कला, कृषि जीवन, वर्षा, प्रकृति संरक्षण र पर्यावरणीय सन्तुलनसँग जोडिएको बहुआयामिक पर्व हो। संसारका अन्य समाजमा पनि सर्पपूजाका विभिन्न परम्परा पाइन्छन्, तर नेपाली नागपञ्चमीले आफ्नै मौलिक स्वरूप र स्थानीय विशेषता बोकेको छ।

वर्षका ३६५ दिनमध्ये एउटा दिनलाई नागका नाममा समर्पित गरेर विशेष श्रद्धाका साथ मनाउनु आफैँमा हाम्रो सांस्कृतिक चेतनाको सुन्दर उदाहरण हो। त्यसैले नागपञ्चमीलाई केवल परम्परा निर्वाह गर्ने दिनका रूपमा नभई प्रकृति, संस्कृति र कृषि जीवनबीचको सम्बन्ध सम्झने अवसरका रूपमा पनि लिन सकिन्छ। (रवि चालिसेको ‘हाम्रो चाडपर्व’पुस्तकबाट केही अंश साभार गरेका छौं )