काठमाडौं, साउन ३१ :

नीलम कार्की निहारिका अहिले नेपाली साहित्यको आख्यान जगतकी एक अग्रणी नाम हुन्। नेपालका दुई प्रतिष्ठित मदन पुरस्कार र पद्मश्री पुरस्कारले सम्मानित भइसकेकी निहारिकाले वाङ्मयलाई एकपछि अर्को महत्वपूर्ण सिर्जनाहरू पस्किने गरेकी छन् । उनको पछिल्लो समयमा प्रकाशित ऐतिहासिक उपन्यास राजमाता नेपाली साहित्य पाठक वृतमा चर्चाको विषय बनेको छ। प्रस्तुत छ, निहारिकासँग ‘राजमाता’मा केन्द्रित भएर गरिएको कुराकानीको   सम्पादित अंशः

किताब प्रकाशित भएको केही समय त लेखकलाई निकै फुर्सदको समय जस्तो हुन्छ होला होइन ?

-त्यो हो पनि होइन पनि । आख्यान प्रकाशित भए पछि पाठको प्रतिक्रिया कस्तो हुन्छ त्यसमा चासो रहन्छ । पटकपटक भनेकी थिएँ। उपन्यास प्रकाशित भइसकेपछि परीक्षा दिएर बसेको विद्यार्थी जस्तो अनुभव हुन्छ| एकातिर फुर्सदिलो पनि अर्कोतिर परीक्षाफल कस्तो आउँछ ?त्यसको पर्खाई पनि परीक्षाफल भनेको पाठकको प्रतिक्रिया हो। हकमा पुस्तक अलि ठूलो भएकोले झन्डै ७०० पृष्ठको भएकोले प्रतिक्रिया आउन पनि समय लाग्ने नै भयो। त्यसैले भएर पनि पाइँदैन  ।

अझ त्यसमाथि पुरस्कारको पनि कुरा हुन्छ होला ? यहाँले त नेपालका ठुला पुरस्कार भनिएका मदन पुरस्कार र पद्मश्री दुवै प्राप्त गरिसक्नुभएको हुँदा त्यो दौडमा चाहिँ सहभागी हुनुभएन नि?

-पुरस्कारलाई दौडे पनि भन्न नमिल्ला | लेखकले लेख्ने बेलामा म पुरस्कार पाउँछु भनेर कलम चलाएको हुँदैन | मेरै कुरा गर्नुहुन्छ भने मैले उमेरमा उपन्यास लेखेकी हुँ। त्यतिबेला मलाई मदन पुरस्कार भन्ने के हो ?थाहा थिएन | अझै भन्नुहुन्छ भने विद्यालयहरूमा कविता प्रतियोगिताहरु भएको त मलाई थाहा थियो पुस्तकको लागि पुरस्कार हुन्छ भन्ने मलाई थाहा थिएन । त्यसैले पुरस्कार लेखनको अन्तिम बिन्दु होइन |कारण लेखनमा त्यस्तो प्रतिस्पर्धाको दौड हुँदैन। लेख्दै जाँदा पुरस्कारले सम्मानित गरिन्छ भने अर्थात् आफ्नो लेखन कुनै नामको पुरस्कारले सम्मानित हुन्छ भने त्यो राम्रै कुरा पनि हो। तर लेखनको पुरस्कार भनेको पाठको प्रतिक्रिया पनि हो।

तपाईँ कहिले महाभारतमा आधारित भएर पुस्तक लेख्नुहुन्छ कहिले इतिहासबाट लेख्नुहुन्छ समसामयिक विषय नभेटेकै कारणले यसो गर्नुभएको हो  ? 

-हो मैले महाभारतमा आधारित भएर चिरहरण लेखे त्यसपछि मैले एकजना अग्रणी महिलाको जीवनमा योगमाया लेखे  । अहिले नेपाली इतिहास पढेर राजमाता लेखे। यो भन्दा अगाडि सामाजिक संस्कृतिको उपन्यास द्रौपदी अवशेष पनि त लेखे नि । चीरहरण लेख्नु अघि घर देश प्रदेशका कथा लाई लिएर उपन्यास अर्की  आईमाई  लेखेकी थिए। विषयको कुनै खडेरी छैन । कुन विषय पहिला लेख्ने त्यो मात्रै हो। 

अहिलेको समयमा ऐतिहासिक उपन्यासमा कति सत्य, कति तथ्य भन्ने बहस चल्ने गरेको छ। राजमाताको पहिलो अध्यायमा देवलदेवीको कुरा छ । त्यो कति तथ्यमा आधारित हो  ?

-हो पहिलो अध्याय देवलदेवीको समय त्यसबेलाका नेपालमण्डलसँग सिमा जोडिएका सिम्रौनगढ  र सिन्जाको कुरा छन् ।केन्द्रीय पात्र देवलदेवीलाई केन्द्रमा राखेर त्यतिबेलाको समय घटना पस्किएको छु ।विसं ११५४ मा नान्यदेवले सिम्रौनगढ राज्य बसालेका उल्लेख पाइन्छ । उनी कर्नाटवंशी थिए। मिथिला, त्रिभुक्ति, तिरहुत पनि भनिन्थ्यो। हालको बारा जिल्ला। सिमराबनमा विशाल दुर्ग–नगर, राजधानी थियो। यो कुरा सन् १०९७ को हो।

विशाल दरबार कसरी बन्यो भन्ने बारे विभिन्न किंवदन्ती पाइन्छ। राजा नान्यदेवका वंशज राजा रामसिंहदेवको पालामा बौद्ध विद्वान् स्वामीले सिम्रौनगढको बारेमा वर्णन गरेको पाइन्छ। सात मूल ढोका र २१ पोखरी र रुखहरूको पर्खालले नगर घेरेको, पाँचवटा पोखरीमाथि पुल भएको जस्ता वर्णन पाइन्छ।म स्वयं आफैँ पनि त्यहाँ पुगेँ। हालमा त्यो क्षेत्रलाई राम्रो संरक्षण दिएर राखेको छ। गयासुद्दीन तुगलकले आक्रमण गरेर सिम्रौनगढ ध्वस्त भएको, देवी–देवताका मूर्ति नष्ट भएको थियो। पछि इटालियन पादरी र विद्वान् फादरले नेपालमण्डल जाने क्रममा यो दुर्ग फेला पारेको वर्णन पाइन्छ।

भनिन्छ, सिम्रौनगढ दरबारमा लामो–ठूलो प्रकारले भूलभुलैया जस्तो संरचना निर्माण भएको थियो। चार बुर्जा भएको किल्ला थियो। त्यहाँ पुग्न अन्य चारवटा किल्ला पार गर्नुपर्थ्यो। पछि भएको अन्वेषणमा पनि त्यहाँ धेरै मूर्तिहरू र माटाका भाँडा,रातामाटाका भाँडाहरू फेला पारिएको उल्लेख छ। १२औँ शताब्दीको शिलास्तम्भ उत्तीर्ण हालसम्म पनि पाउन सकिन्छ। त्यसलाई पनि आधार बनाएर मैले त्यहाँको दृश्य कल्पना गरेकी हुँ। ऐतिहासिक उपन्यासमा यस्ता तथ्यले कथालाई जीवन्त गराउँछ। म तथ्यलाई आधार मानेर लेखेकी हु । उपन्यासका पात्रहरू सेवक सुसारे द्वारे र यही सेना आदिबारे बाहेक सबै पात्रहरू इतिहासबाटै उठाएकी छु । उनीहरूले गरेका कामको आधारमा चरित्र चित्रण गर्ने कोसिस गरेकी छु। र मुख्यमुख्य घटनाहरू,मा पात्र स्थान केही पनि फरक पारेकी छैन ।त्यतिबेलाको चालचलन र संस्कृतिको पनि अध्ययन गरेर दुरुस्त पस्कने कोसिस गरेकी छु।

तिरहुतले नेपालमण्डललाई पटक–पटक आक्रमण गरेको कुरा लेख्नुभएको छ? त्यो पनि  सत्य होला ?

-हो नि । सत्य हो । ऐतिहासिक उपन्यास तथ्यमै टेकेर लेखिने हो। लेखनशैली फरक हुन सक्छ, तर आजको आँखाले हिजोका घटनालाई हेरेर मनलाग्दो तोडमोड गरेर लेख्न हुँदैन भन्ने मेरो मान्यता छ। सिन्जा या तिरहुतले जति पटक आक्रमण गरेको लेखेकी छु, त्यो सत्य नै लेखेकी छु। अर्थात्, धेरै इतिहासका पुस्तकहरू पढेर तिथिमिति समेत मिलाएर क्रमिक रूपमा लेखेकी छु।

तिमी मिलाएर भन्नुको तात्पर्य फरक–फरक पुस्तकहरूमा फरक–फरक मितिहरू धेरैवटा हेरिसकेपछि यो नै सत्य हुनुपर्छ भन्ने संशोधन मण्डलले दिनुभएको मितिलाई मुख्य आधार मानेकी थिएँ।विसं ११६८ मा सिम्रौनगढले नेपाल आक्रमण गरेको उल्लेख छ। त्यसपछि अर्का राजा रामसिंहको पालामा १३०१ जेठमा र १३०२ मङ्सिरमा पूर्वबाट पनौती, बनेपा हुँदै कपन आई लडेको अर्को आक्रमण भएको देखिन्छ।

विसं १३५६ पुसमा भक्तपुर आक्रमण गरेको, सिर्तो बुझाएको पाइन्छ। १३६७ मा तिरहुती अर्थात् सिम्रौनगढबाट फेरि आएको, ठाउँ–ठाउँमा घमासान परेको र १३७० वैशाखमा पूर्ण रूपमा त्यहाँका सेना सिम्रौनगढ फर्किएको उल्लेख छ। भक्तपुरकी देवलदेवीको सिम्रौनगढका राजा हरसिंहसँग विवाहपछि नेपालमण्डलमा सिम्रौनगढको आक्रमण भएको थिएन। त्यस आधारले भन्न सकिन्छ, देवलदेवीको विवाहपछि नै आमा पदुमलदेवी र दाजु रुद्र मल्लसँग सुलह–सन्धि भएर पूर्णरूपमा आक्रमण बन्द भएको थियो। त्यो विवाह नै दुई राज्यको मिलापको मुख्य कारण भएको प्रमाणित देखिन्छ। मैले सिम्रौनगढ आएको समय, उनीहरू फर्केको समय, देवलदेवी र राजा हरसिंहदेवको पुत्र जन्म समयलाई अध्ययन गरेकी थिएँ। र त्यही आधारमा लेखेकी हुँ।

ऐतिहासिक  उपन्यास  लेख्दा के-के कुरामा ध्यान दिनुपर्छ ? लेखक साबधान भएनन भने त इतिहास प्रतिको आम बुझाई नै फरक पर्ला ? 

-पहिलो कुरा यो बुझ्नु पर्छ कि इतिहास र ऐतिहासिक उपन्यास दुई बिल्कुल फरक कुरा हो । उपन्यासमा कल्पना हुन्छ । तर कल्पना हुन्छ भन्दैमा जथाभावी मनगडन्ते कुरा लेख्न छुट कसैको कलमलाई हुदैन । त्यसैले  ऐतिहासिक भनेर लेख्दाखेरि तथ्यमा धेरै ध्यान पुर्यााउनुपर्ने हुन्छ। 

सबैभन्दा पहिला त आफूले लेख्नु अघि इतिहास पढ्दा एउटै स्रोतमाथि निर्भर हुन मिल्दैन। हामीकहाँ पनि ऐतिहासिक पुस्तकहरूमा कुनै घटनालाई  फरक–फरक तरिका फरक मिति दिएर  लेखिएको पाइन्छ। त्यसकारण एकै घटनाको लागि पनि दुई चार पुस्तकहरू पढेर भरपर्दो स्रोतमा मात्र निष्कर्षमा पुग्नुपर्ने हुन्छ।

घटनाहरू मात्र पढेर भएन  समय, स्थानले पनि पुग्दैन  त्यतिबेलाको सामाजिक अवस्था, अर्थव्यवस्था, खानपान, पोशाक आदिबारे अध्ययन गर्नुपर्ने हुन्छ। सिर्जनामा कल्पना आवश्यक भयो नै, तर कल्पना इतिहासलाई भ्रमित पार्ने गरी लेख्नु हुँदैन। अनि पात्रहरू समयअनुकूल हुनुपर्छ। तिनीहरूको व्यवहार पनि त्यहीअनुसार गराउनु पर्छ। आजको सोचमा पात्र अगाडि बढ्नु हुँदैन र त्यतिबेलाकै सामाजिक संरचनामा उनीहरूका गतिविधिहरू मेल खानुपर्छ। अर्को कुरा, संवादमा आधुनिक अभिव्यक्तिभन्दा पुरानै संवाद सुन्दर हुन्छ, तर त्यसो भन्दैमा बुझ्नै नसकिने संवाद पनि राख्नु हुँदैन। उपन्यास लेख्दा समाज लेखिनुपर्छ। त्यतिबेलाको धर्म, परम्परा, विवाह, संस्कार आउनुपर्छ र अर्को कुरा, ऐतिहासिक पात्र एकपक्षीय हुनुहुँदैन। मानवमा मानवीय गुणसहित आउनुपर्छ। कसैलाई सक्दो खलनायक कोहिलाई चाहिने भन्दा नायक बनाउनु हुँदैन । 

अर्को कुरा, इतिहासलाई वर्णन गरेर मात्र ऐतिहासिक उपन्यास बन्दैन। त्यसको लागि कथानक जोडिएर खाली ठाउँमा कल्पनाले पूरा गर्दै अगाडि बढ्नुपर्छ। त्यसरी लेख्दा  सानो-सानो कुरामा पनि सचेत भएर लेख्नुपर्छ। त्यो बेलाको भाषा, रहनसहन, खानपान कस्तो थियो, गरगहना लगाएका थिए भने प्रचलित थिए कि थिएनन्, अर्थात् त्यो लगाउन अनुमति थियो कि थिएन, जस्तै मानौँ गोरखाकै इतिहास हेर्दा  अघि रैतीहरूलाई सुनका गहना , बाला लगाउने अनुमति थिएन। त्यस बेला पात्रलाई  झपक्क गरगहना लगाइदिनु त मिलेन। महिलाले छोटो गरि धोति लाउने चलन थियो पहिला , कुर्कुच्चा ढाक्ने गरी लरक्क लाईदिनु भएन । अन्य कुरा पनि त्यतिबेलाकै संस्कृति अनुसार हुनुपर्यो। यस्ता कुरामा निकै ध्यान दिनुपर्छ। जहाँको या जसको  इतिहास अक्षरमा लेखिएका  छैनन , त्यसलाई स्थान, समय, संस्कृति, चलन अनि तत्कालिन  विश्वासअनुसार मेलखाने गरि कल्पना गर्नुपर्ने हुन्छ। आजको सचेत आखाँले हेरेर हिज यहि र यस्तै भएको हुनु पर्छ भन्ने सोच राखेर लेखियो भने इतिहासका घटना  फरक धारमा हिड्न सक्छ । पाठक भ्रममा पर्ने स्थिति सिर्जना हुन्छ । तर नलेखिएका कुरा त्यही समयको चेतना अनुसारका घटना सिर्जना गर्दा पात्रहरुमाथि न्याय हुन्छ । 

अब के लेख्ने सोचमा हुनुहुन्छ ?

लेख्न त धेरै कुरा छ। हेरौं मेरो मन मस्तिष्कले पहिला के लेख भन्छ ?  तर लेख्न चाही  आख्यान नै लेख्छु। धेरै पाठक भन्नुहुन्छ ‘तपाईं फेरि पनि ऐतिहासिक उपन्यास नै लेख्नुहोस् ।” ऐतिहासिक उपन्यास लेख्दा अति धेरै अध्ययन गर्नुपर्ने हुन्छ ।सामग्री भेला पार्न पनि निकै कसरत गर्नुपर्छ ।स्थलगत अध्ययनको लागि त्यस्तै कठिन । त्यसले गर्दा जे लेखन समयले सहज वातावरण  म त्यही लेख्नेछु।