मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन #विश्व बैंक#धितोपत्र बजार#नेप्से परिसूचक#नेपाली कांग्रेस#सभापतिले सम्बोधन गर्ने#उम्मेदवारी दर्ता#संसदीय सुनुवाइ#प्रस्तावित राजदूतहरू#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन
अन्तर्वार्ता

चुनाव आवश्यक छ : जेनजी अभियन्ता अमृता बन

बानेश्वर घटना : हाम्रा साथीहरुलाई गोली हानेर मारिएको दृश्य अझैसम्म आँखामा आइरन्छ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ५ माघ, २०८२ मा प्रकाशित
चुनाव आवश्यक छ : जेनजी अभियन्ता अमृता बन
काठमाडौं, माघ ५ :

सरकार निर्वाचनको तीव्र तयारी गर्दै छ । देश नै चुनावी माहोलमा तानिएको छ । पुराना र नयाँ शक्तिहरुबीच कसले ज्यादा बहुमत ल्याउला भन्ने विषयले सामाजिक सञ्जालदेखि चोक चौताराहरु तात्तिएको छ । जे होस्, यसपालिको निर्वाचन विगतका भन्दा निकै रोचक र रमाइलो हुने देखिन्छ ।

तर देश नै खरानी हुने गरी भएको जेन जी आन्दोलन, ७६ जना सहिदहरुको योगदान  के यही ८४ को चुनावी क्यालेन्डरलाई ८२ मा तान्नुमात्र थियो ? जेन जी सरकारले जेन जीको भावना अनुसार काम गर्यो त ? के यो चुनावले आन्दोलको मर्म सम्बोधन हुन सक्ला ? यी र यस्ता जिज्ञासा तमाम नेपालीको मनमा पक्कै उब्जिरहेको हुनुपर्छ । 

आफैँले बनाएको सरकारले आफ्नो मनोभावना अनुसार काम नगरेको भन्दै कतिपय जेन जी अभियान्ताहरु अझै सडक सङ्घर्षबाट निकास खोजिरहेका छन् ।  चुनाव हुन दिन्नौँ भनिरहेका छन् । कतिपय जेन जीहरु चुनाव हुन आवश्यक नै ठान्छन् तर जे होस्, कुनै पनि जेन जी अभियान्ताहरु आफूले बनाएको सरकारसँग पूर्ण रुपमा सन्तुष्ट चाहिँ देखिँदैनन् । अभियान्ताहरु भन्छन्, “सरकार चुनावमा केन्द्रित हुनु त आवश्यक नै छ तर यसबाहेक पनि गर्न सकिने र अपरिहार्य खालका अन्य कुराहरुमा चाहिँ सन्तुष्टीजनक चासो राख्न सकेन ।”  

यस्तैयस्तै देशको वर्तमान अवस्था, जेन जीहरुको अबको योजना, आगामी निर्वाचनप्रति उनीहरुको दृष्टिकोण तथा भुमिका आदि विषयमा केन्द्रित रहेर जेन जी अभियान्ता एवम् नेपाल जेन जी फ्रन्टका अभियान विभाग प्रमुख अमृता बनसँग सक्रिय खबरका संवादाता युवराज विश्वकर्माले कुराकानी गरेका छन् । 

अमृता बन काठमाडौँकी हुन् । उनी २३ वर्षकी भइन् । उनी भि एफ एक्स एनिमेसन अध्ययन गरिरहेकी छन् ।  यसो त उनीसँग लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ । बेलैमा राजनीतिक चेतनाले खारिएकी उनी चाहेर या नचाहेर आन्दोलनमा होमिन पुगिन् । सामान्य ढङ्गले शान्तीपूर्ण रुपमा शुरु गरिएको आन्दोलनमा हेर्दा हेर्दै आफ्ना ७६ जना साथीहरुको हत्या भएको सम्झँदै भावुक भएर उनी भन्छिन्, “हामीले शान्तीपूर्ण ढङ्गबाट आफ्ना असन्तुष्टी देखाउँदा, भ्रष्टाचारको विरोधमा आवाज उठाउँदा हाम्रा यति धेरै साथीहरु गुमाउन पुग्यौँ । आखिर हामीले के नै अपराध गरेका थियौँ र ?” अबको निर्वाचन पछि बन्ने सरकारले देशलाई पक्कै न्याय दिलाउनेमा उनी आशावादी छिन्  ।  प्रस्तुत छ, अभियान्ता अमृता बनसँग सक्रिय खबरका संवादाता युवराज विश्वकर्माले गरेका कुराकानीको सम्पादिन अंशः
 

जेन जी आन्दोलनको डिजाइन चाहिँ कसरी भएको थियो ? खुलाइदिनुस् न ।


डिजाइन भन्दा पनि सेप्टेम्बर ८ मा फर्किनु पर्दा देशको अवस्थाले आम जनतामा असाध्यै निराशा छाइरहेको थियो । पुराना राजनीतिक दलका शीर्ष नेताहरु पालै पालो दोहोरिएर सत्तामा हाबी हुने अनि गैर जिम्मेवारीपूर्ण अभिव्यक्तिहरु दिइरहने प्रवृत्तिले गर्दा हरेक नेपालीहरुमा असन्तुष्टी बढीरहेको थियो । मिसन ८४ भनेर आउने चुनावमा सत्ता परिवर्तन गर्नुपर्छ, नयाँ विकल्प खोज्नुपर्छ भन्दै सामाजिक सञ्जालहरुमा सामान्य टिकाटिप्पणीहरु भइरहेका थिए । 
देशमा भएका गरिबी, बेरोजगारी, विदेश पलायन हुन बाध्य अवस्था यी सबलाई सहेर सामाजिक सञ्जालमा दुखेसो पोख्दै अब आउने चुनावमा नयाँ नेतृत्व ल्याउने सङ्कल्पले युवाहरु साइलेन्स नै थिए । तर जसरी सामाजिक सञ्जाल बन्द गरियो त्यसले सबै झन आक्रोश बढाउन ट्रिगरको काम गर्यो । 

सामाजिक सञ्जालले पढाइ, अनलाइन बिजनेश, आफ्नो कला प्रदर्शन, व्यक्तित्व विकास, मनमा लागेका कुराहरु प्रस्फुटन आदिलाई सहयोग पुर्याइरहेको बेलामा सरकारले बन्द गरिदिए पछि अभिव्यक्ति स्वनन्त्रतानै खोसिएको जस्तो भयो र आक्रोशले सीमा नाघेर यसको विरोधमा शान्तीपूर्ण ढङ्गले जवाफ माग्न देशभरबाट एकसाथ एउटा पुस्तानै सडकमा आएको हो । यो कुनै एकजनाको लिडरसिप वा डिजाइनमा भएको हैन । यो देशभरका युवाहरुको समग्र फ्रोस्टेशनको विस्फोट हो ।

आन्दोलन पश्चात् जुन माहोल बन्यो, चारैतिर धुवाँ र खरानी, सिङ्गो देश जलिरहेको अवस्थामा तपाईंको मनमा कस्ता विचारहरु आए ?


आन्दोलनको पहिलो दिन, हामी त फ्रन्ट लाइनमै थियौँ । आँखै अगाडीका त्यस्तो ब्रुटल दृश्यहरुले साह्रै मन पिरोल्यो । एकछिन अगाडीसम्म सँगै भएका कतिपय साथीहरुमाथी गोली हानेर हत्या गरियो । भर्खरै चिनेका, सँगै सुन्दर नेपाल बनेको हेर्ने सपना साटेका निर्दोष साथीहरुको रगत बगीरहेको दृश्यले अघि तपाईंले भन्नुभएको जस्तै अन्धकारै अन्धकारमात्र महसुस भएको भयो । पहिलो कुरा त नयाँ वानेश्वरमा म रातको १० बजेतिर पनि निर्धक्क भएर हिँडिराख्ने मान्छे, हेर्दा हेर्दै त्यो ठाउँ युद्धभूमी बन्न पुग्दा हामीलाई किन यस्तो गरिँदै छ भन्ने प्रश्न मनमा उब्जिए । हामीले एकदिन अघि नै शान्तिपूर्ण आन्दोलनको लागि अनुमति पनि लिएकै थियौँ । फेरि पनि यस्तो किन भयो ? हामीले के चाहिँ गल्ति गर्यौँ  शान्तिपूर्ण आन्दोलन गर्दा पनि हाम्रा साथीहरुलाई यसरी मारियो ?

हो, अब आन्दोलमा घुसपैठ भयो । यो कुरालाई म स्वीकार्छु तर हाम्रो सुरक्षा, घुसपैठ हुन नदिने जिम्मा पनि त प्रशासनको हो । यत्रो मान्छेहरु सडकमा आइरहेको बेला, टिकटक खोल्दा पनि १० वटा भिडियोमध्ये ८ वटा त आन्दोलनको मात्रै आइरहेको थियो । यस्तो अवस्थामा हाम्रो उचित सुरक्षाको जिम्मा पनि त प्रशासनकै हुनुपर्ने हैन र ?

हामी शान्तीपूर्ण रुपमा सडकमा आन्दोलन गरिरहेका थियौँ । एउटा रुखको पातसमेत चुडाउन हुन्न भनेर जोगाउँदै थियौँ । पानी खाएको बोतलहरु प्नि कलेक्ट गरेर हिँडीरहेका थियौँ । भोलिपल्ट सरकारी भवनहरु जल्न नहुने जल्यो, अझ त्योभन्दा पनि हाम्रा साथीहरुलाई गोली हानेर मारिएको दृश्य अझसम्म आँखामा आइरहन्छ । त्यही हो, चारैतिर सन्नाटामात्र । किन हामीलाई यस्तो गरियो ? के गल्ति गर्यौँ र हामीले आफ्नो अधिकार मागेर भन्ने कुराहरु मनमा आइरह्यो । त्यो एउटा ट्रमाले धेरै पछिसम्म हिट गरिह्यो, आजसम्म पनि हिट गरिरहेको छ ।  

कहिलेकाहीँ सोँच्दा, जे थियो बरु त्यत्तिकै ठिक थियो । शान्तीपूर्ण आन्दोलन पनि नबोलाएको भए हुन्थ्यो कि भन्ने लागेन ?


त्यस्तो जे थियो त्यस्तै रहन दिनुपर्दो रहेछ भन्ने त लागेन । तर जुन ब्रुटल दृश्यहरु देखियो, हामीलाई किन यस्तो व्यवहार गरिँदैछ भन्ने प्रश्न चाहिँ उठिरहन्छ । लोकतान्त्रिक देशमा प्रश्न सोध्न पाइन्छ, आवाज उठाउन पाइन्छ । तत्कालिन प्रधानमन्त्री, सरकारमा भएका नेताहरुपनि त्यही आन्दोलनबाटै आएका हुन् । तर हामीले असन्तुष्टी देखाउँदा किन अपराधीलाई जस्तो गरियो भन्ने प्रश्नको जवाफचाहिँ आजसम्म पनि खोजिरहेको छु । तर जे थियो, त्यस्तै ठिक थियो भन्ने चाहिँ लागेन ।

आन्दोलन पश्चात् जेन-जीहरु एक भएर अघि बढ्नु पर्नेमा अहिले एउटा समूहले अर्को समूहलाई स्वीकार नगर्ने परिस्थिति किन बन्न पुग्यो ? 

हेर्नुस्, संविधान मान्नुपर्छ, जोगाउनुपर्छ भन्ने साथीहरु र संविधान च्यात्नुपर्छ भन्ने साथीहरुबिच त एकताको कतै कुनै आशा नै रहेन । अन्य साथीहरुको कुरामा आन्दोलन पछि विस्तारै मान्छेहरुमा आफ्ना आफ्नै खालका विचारहरु विकास हुन थाले । फरक फरक विचारले फरक फरक समूह निर्माण हुनु सामान्य नै हो । सायद सबैजना एक हुन पाएको भए अझ राम्रो त हुन्थ्यो होला । तर हामी फरक फरक समूहमा बाँडिएता पनि देशको कुरामा, सरकार गठन तथा माइनेटिङको कुरामा सबैजना मिलेर नै अगाडी बढीरहेका छौँ । अझैपनि आवश्यक परेको बेला व्यक्तिगत विचारभन्दा माथी उठेर सम्झौता गर्दै एक भइरहेका छौँ । विभाजनको कुरा गर्नुपर्दा पहिला पहिला भएका आन्दोलहरुमा पनि पछि समूह छुट्टिएकै थियो । अहिले पनि त्यसरी नै बुझ्नु पर्छ । तर हामी लोकतन्त्रमा विश्वास गर्ने, संविधान जोगाउनुपर्छ भन्नेहरु संविधान च्यात्नुपर्छ भन्नेहरुसँग वार्ताको लागिसमेत वातावरण नै बन्न सकेन  । तर जे भएपनि देशलाई आवश्यकता पर्दा हामी सधैँ साथमै र्छौँ ।

आन्दोलन पछिको सरकार, जसलाई जेन-जी सरकार पनि भन्छौँ । यो सरकारको कामप्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?


जेन जी आन्दोलन पछि बनेको सरकारले प्राप्त गरेको स्पष्ट म्यानिडेट भनेकै चुनाव गराउनु थियो । त्यो कुरामा त हामीलाई केही भन्नु छैन । तर चुनाव गराउने भन्दै गर्दा यो सँगसँगै हामीले हरेक छलफलमा, हरेक समयमा सरकारसँग गरेको म्यानिडेट अरुपनि थिए, जस्तै आप्रवासी नेपालीहरुको मताधिकारको कुरा लागायत अन्य कुराहरुमा चासो नदिएर प्रधानमन्त्रीज्यूको जति सिरियसनेस चुनावमा मात्र देखिन्छ त्यसमा चाहिँ व्यक्तिगत रुपमा मलाई पनि चित्त बुझेको छैन । जहाँसम्म अपराधीहरुलाई कारबाहीको कुरा छ, त्यसमा छानबिन भइरहेको छ, निष्कर्षमा नपुगुन्जेल एक्सन लिन पनि मिल्दैन तर चुनाव गराउन त आवश्यक छ । यो कुरामा कुनै गुनासो छैन ।

 आगामी चुनावलाई कसरी हेर्नु भएको छ ?  फेरि पुरानै दलहरु नआउलान् भन्न सकिन्न, यस्तो भयो भने के हुन्छ?


देशमा चुनावको अत्यन्तै आवश्यक छ । हामी हाम्रो देशलाई सधैँ यही अवस्थामा राख्न सक्दैनौँ, राख्न हुँदैन पनि । अब जहाँसम्म पुरानै सरकार दोहोरिने कुरा छ, हाम्रा मतदाताहरुले तत्कालिन सरकारको दमनलाई राम्रोसँग देख्नुभएको छ । फेरिपनि उनीहरुलाई नै जिताउनुहुन्छ जस्तो मलाई लाग्दैन । यसपाली जनताले मत परिवर्तन गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु । आफैँमा समझदार हुनुहुन्छ । आम जनताले मतदान गर्दैगर्दा भदौ २३ र २४ को दृश्य सम्झनु हुनेछ  र नयाँ सरकार बन्नेछ जसले देशलाई सही दिशामा लैजान सक्छ भन्नेमा हामी आशावादी छौँ । 

जनताले यसपाली मत परिवर्तन गर्छन्, नयाँ विकल्प खोज्छन् भन्नेमा विश्वस्त हुनुहुन्छ ?


हेर्नुस्, जनतामा यो भन्दा अगाडिको निर्वाचनबाटै मत परिवर्तनको चेतना आइसकेको छ ।जसरी बालेन शाहज्यूले कुनैपनि राननीतिक दलसँग सहकार्य नगरी त्यति धेरै मत ल्याएर काठमाडौँमा चुनाव जित्नुभयो । दुईतीन महिनमा अघिमात्र दर्ताभएको रास्वपाले त्यति धेरै सिट जित्नु कुनै जोक हैन । यसपाली त झन कति धेरै नयाँ भोटर्स हुनुहुन्छ, जसमा धेरैजसो हाम्रै जेन जी समूहका साथीहरु हुनुहुन्छ । जनताहरुले अघिल्लो सरकारको प्रवृत्ति राम्रोसँग बुझिसकेका छन् । त्यसैले मचाहिँ अब भोट परिवर्तन हुन्छ भन्ने कुरामा पूर्ण विश्वस्त नै छु ।

यो चुनाव पछि संसदमा जेन जीहरुको सहभागीता कत्तिको देख्न पाइएला, के लाग्छ तपाईंलाई ?


प्हिलो कुरा त मलाई यो जेन जी, जेन जी भनिरहँदा जेन जीहरुको उपस्थिति संसदमा भएरमात्र देश बन्छ भन्ने कुरा नै अव्यावहारिक लाग्छ । यसलाई थोरै परिमार्जन गरेर युवाहरुको सहभागितामा चाहिँ जोड दिनुपर्छ । जेन जी भन्दा पनि ४० वर्ष आसपासका युवा जोश भएका नयाँ विचार भएका व्यक्तिहरुको हस्तक्षेपचाहिँ आवश्यक जस्तो लाग्छ । जहाँसम्म युवाहरुको सहभागिताको कुरा छ, पक्कै पनि यसपाली संसदमा धेरै युवाहरुको सहभागिता रहने मेरो विश्वास छ । 

तपाईं अथवा तपाईंको समूह चाहिँ चुनाव उठ्नु हुन्छ कि हुन्न ? उठ्नुभयो भने जेन जी कै समूहबाट अघि सर्नु हुन्छ कि कुनै दलसँग सहकार्य हुन्छ ?
म आफैँ त चुनावमा उठ्ने कुनै त्यस्तो योजना छैन । म त चुनाव उठ्दिनँ तर हाम्रै नेपाल जेन जी फ्रन्ट समूहका केही साथीहरु, जेन जीकै अन्य समूहका धेरैजना साथीहरु चाहिँ यसपालीको चुनावमा उठ्ने पक्का भइसकेको छ । अब हामी आफ्नै समूहबाट चुनाव उठ्न त अहिले सम्भव नै छैन । हामीले नयाँ दलहरु जो जेन जीको भावनासँग नजिक छन्, जस्तै रास्वपा या अन्या दलहरुसँग सहकार्य गर्ने योजना बनाएका छौँ । जे होस्, फागुन २१ को निर्वाचनमा आन्दोलनलाई अगुवाइ गर्नुभएका हाम्रा धेरै साथीहरुले प्रतिस्पर्धा गर्नेछन् र चुनाव जित्नेछन् । 

यता जेनजी अभियन्ता मिराज ढुङ्गाना पक्ष चुनाव हुन दिन्नौँ भनिरहेका छन् । यसमा तपाईंहरुको पनि समर्थन कत्तिको हुन्छ ?


हेर्नुस्, हाम्रो जस्तै ढङ्गले केही समय पहिला बङ्गलादेशमा पनि आन्दोलन भयो । मुद्दाहरु केही फरक थिए होलान्, ढाँचा फरक थियो होला तर उस्तै खालको आन्दोल भएको थियो । आन्दोलन पछि चुनाव हुन नसक्दा त्यहाँ कस्तो अवस्था सिर्जना भएको छ भन्ने कुरालाई हेरेर पनि चुनाव किन आवश्यक छ भन्ने कुरा मिराज ढुङ्गाना जत्तिको मान्छेले बुझ्नुभएकै होला भन्ने आशा छ । अब जहाँ सम्म निकासको कुरा छ, त्यसमा त मेरो समर्थन छ । तर चुनाव नै हुन दिन्न भन्ने कुरामा चाहिँ मेरो र मेरो समूहको अलिकति पनि समर्थन छैन । हामी चाहिँ निकासकै लागि निर्वाचन आवश्यक छ भन्ने ठान्छौँ ।

लगभग चुनाव हुने निश्चित नै छ । चुनाव लक्षित तपाईंहरुको अबको योजना के छ ?


हामीले चुनाव हुने घोषणा भए देखि नै विभिन्न क्याम्पिङहरु सञ्चालन गरेर भोटर आइडीहरु बनाउने कुरामा, चुनाबमा सकेसम्म धेरै भोटरहरुलाई जोड्ने कुरामा काम गरिरहेका नै छौँ । अब भनेको हाम्रो आन्दोलनको मर्म पूरा हुनको लागि सबैभन्दा पहिला मत परिवर्तको आवश्यकता छ । युवा सहभागिताको आवश्यकता छ । त्यसको लागि हामीले हरेक दलहरुलाई उमेद्वारीमा समावेशिता लागु गर्न, युवा तथा महिला उमेद्वारहरुको सङ्ख्या बढाउनको लागि खबरदारी गरी पनि रहेका छौँ र फेरि पनि गरिरहने छौँ । साथै मतदाताहरुलाई असल व्यक्ति छान्नको लागि हामी हरेक दिन सचेतनामूलक कार्यक्रमहरु गर्ने, सजग गराउने जस्ता कार्यहरु गर्नेछौँ । 

अब फेरि उस्तै डरलाग्दो आन्दोलन हुन सक्ने सम्भावना छ कि छैन ?


हेर्नुस्, जब जब मान्छेहरुमा चरम असन्तुष्टी बढ्न थाल्छ तब तब आन्दोलन हुन्छ । तर त्यसो भन्दै गर्दा सडक आन्दोलले मात्रै सधैँ परिवर्तन ल्याउँछ भन्ने हैन । हाम्रो देशलाई अहिले आर्थिक क्रान्तिको आवश्यकता छ । त्यसैले अब भनैको इकोनोमिक रिभोलुसन तर्फचाहिँ हामी अगाडी बढ्नुपर्छ । तर फेरि उस्तै लापरबाही, उस्तै भ्रष्टाचार अनि उस्तै असन्तुष्टीले सीमा नाघेको खण्डमा आक्रोश पोखिने भनेको सडकमै हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार