काठमाडौं, जेठ २२ :

कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको निःशुल्क HPV/DNA तथा स्त्रीरोग स्वास्थ्य परीक्षण अभियानमा महिलाहरुको उत्साहजनक सहभागिता बढ्दो छ ।

'उपप्रमुख प्रजनन स्वास्थ्य कार्यक्रम' अन्तर्गत गत जेठ १३ गतेदेखि सुरु भएको यस अभियानको क्रममा  तीन दिनमै १ हजार १ सय २५ जना महिलाले सेवा लिएका छन्।  हालसम्म ९ जना महिलामा 'भीआईए' परीक्षण पोजेटिभ देखिएको छ। संकलित नमुनाहरू थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।

नगरप्रमुख उपेन्द्र कार्की र उपप्रमुख शान्ता थापाले समयमै गरिने परीक्षणले पाठेघरको मुखको क्यान्सरजस्ता जटिल रोगको जोखिम न्यूनीकरण गर्ने बताउँदै सबै महिलालाई यस अभियानको लाभ लिन आग्रह गरेका छन्। महिलाको प्रजनन स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न यस्ता अभियान प्रभावकारी हुने उनीहरुको भनाइ छ।

कागेश्वरी नगर अस्पतालमा प्रजनन उमेरका महिलाका लागि निःशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन
 

शिविरमा पाठेघरको क्यान्सरको प्रारम्भिक पहिचानका लागि अत्याधुनिक HPV/DNA परीक्षण, प्रजनन स्वास्थ्य परामर्श तथा पाठेघरको अल्ट्रासाउन्ड (USG) सेवा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। साथै मधुमेह, उच्च रक्तचाप र मानसिक स्वास्थ्यसम्बन्धी मनोसामाजिक परामर्श सेवा पनि निःशुल्क प्रदान गरिएको छ।

पाठेघरको मुखको क्यान्सरलगायत अन्य प्रजनन स्वास्थ्यसम्बन्धी रोगहरूको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले सञ्चालन गरेको यस अभियानमा महिलाहरूलाई स्त्रीरोग विशेषज्ञद्वारा परामर्श र निःशुल्क यातायातको समेत व्यवस्था गरिएको छ। 

आगामी जेठ २७ गते अघिल्ला दिनहरूमा छुटेका महिलाहरूका लागि पुनः परीक्षण कार्यक्रम राखिएको छ । प्रजनन स्वास्थ्य फोकल पर्सन लक्ष्मी कोइरालाले त्यस दिन वडा नम्बर १, २, ३, ४ र ५ का महिलाहरु र यसअघि छुटेका महिलाहरूको पनि परीक्षण गरिने बताइन्।

नियमित स्वास्थ्य परीक्षणले रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।   यो अभियान असार मसान्तसम्म निरन्तर चल्नेछ।