
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले आफ्नो कार्यकालभित्र नगरवासीका घर–घरमा स्वच्छ खानेपानी पुर्याउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने घोषणा गरेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित डाँछी–भद्रवास क्षेत्रमा निर्माण सम्पन्न भएको “डाँछी–भद्रवास शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना” को शनिबार उद्घाटन गर्दै नगर प्रमुख कार्कीले निर्वाचनका बेला गरेको प्रतिबद्धता कार्यान्वयनको चरणमा पुगेको बताए। उनले अझै ११ महिना कार्यकाल बाँकी रहेकाले सो अवधिभित्र नगरका सबै घरमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको उल्लेख गरे।
“निर्वाचनका बेला मैले नगरवासीसँग घर–घरमा स्वच्छ खानेपानी पुर्याउने वाचा गरेको थिएँ,” उनले भने, “यदि मेरो कार्यकालभित्र त्यो पूरा गर्न सकिन भने आगामी निर्वाचनमा भोट माग्न आउँदिनँ। भोट माग्न आउँदा टाढैबाट बिदाइ गरिदिनुहोस्।”
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत निर्माण गरिएको उक्त आयोजनाबाट वडा नम्बर ३, ४ र ५ का ४ हजार ८ सय ७७ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ। हाल परीक्षण चरणमा रहेको आयोजनाबाट आगामी तीन महिनाभित्र घर–घरमा स्वच्छ खानेपानी वितरण सुरु गरिने तयारी गरिएको छ।
आयोजनाअन्तर्गत ५ वटा डिप बोरिङ, ३ वटा पानी ट्यांकी, १ वटा बुस्टी पम्प हाउस, ३ वटा प्रेसर फिल्टर, १ वटा पानी परीक्षण प्रयोगशाला, २ वटा सार्वजनिक शौचालय, ३ वटा गार्ड घर तथा करिब १८२ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। आयोजनाको कुल लागत ३५ करोड ३७ लाख ४० हजार १ सय ११ रुपैयाँ ७८ पैसा रहेको बताइएको छ।
नगर प्रमुख कार्कीका अनुसार नगरपालिकाभित्र डाँछी–भद्रवास, मुलपानी, गोठाटार भैमाल र काँडाघारी लगायतका ठूला खानेपानी आयोजनाहरू कार्यान्वयन भइरहेका छन्। ती योजनामार्फत नगरका विभिन्न वडामा दीर्घकालीन रूपमा स्वच्छ खानेपानी सेवा विस्तार गरिने उनले बताए।स्थानीयवासीले ती आयोजनाहरू सञ्चालनमा आएपछि दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।
आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सगरमाथा कायदे जेभी, नगर विकास कोष तथा एसियाली विकास बैंकको सहकार्य रहेको छ भने प्राविधिक परामर्श सेवा बिल्डिङ डिजाइन अथोरिटी प्रालिले प्रदान गरेको थियो।
नगरपालिकाले आगामी दिनमा पनि खानेपानी, सरसफाइ, सडक, शिक्षा, स्वास्थ्यलगायत आधारभूत पूर्वाधार तथा जनमुखी विकासका कामलाई प्राथमिकतामा राखेर यस्ता योजनालाई निरन्तरता दिने जनाएको छ।