
नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित मन्त्रीहरूको अनुपस्थितिप्रति कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफलका क्रममा रोस्टममै उभिँदै सांसद राईले सम्बन्धित मन्त्रालयको बजेटमाथि छलफल हुँदा सम्बन्धित मन्त्री अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय अभ्यास र विधिको पालना हुनुपर्ने बताए।
उनले यसअघि पनि अर्थमन्त्री अनुपस्थित रहेको प्रसंग स्मरण गर्दै मन्त्रीहरू उपस्थित भएपछि मात्रै आफ्नो धारणा राख्ने बताएका थिए। सोमबारको बैठकमा समेत दुई जना मन्त्री मात्र उपस्थित रहेको उल्लेख गर्दै उनले नौवटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल भइरहेका बेला सम्बन्धित मन्त्रीहरू अनुपस्थित हुनु उचित नभएको धारणा राखे।
“सांसदहरूले उठाएका प्रश्न, सुझाव र चासो कसले सुन्ने?” भन्दै राईले संसद् विधि, प्रक्रिया र संसदीय मर्यादाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए। उनले नियमअनुसार बैठक सञ्चालन गर्ने हो भने सम्बन्धित सबै मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल अगाडि बढाउनुपर्ने बताए।
सांसद राईले सभामुखसमक्ष सरकारलाई आवश्यक मन्त्रीहरू उपस्थित गराउन आग्रह गर्दै अन्यथा आफूलाई छलफलमा सहभागी हुन कठिन हुने बताए। उनले विगतमा विधि र प्रक्रियाको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका राजनीतिक दलहरूले अहिले पनि सोही अनुरूप व्यवहार गर्नुपर्ने उल्लेख गरे।
यस क्रममा उनले मन्त्रीहरूको उपस्थितिसम्बन्धी संसदीय व्यवस्थाबारे स्पष्ट निर्देशन दिन सभामुखसँग आग्रह गरेका थिए। तर, सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आफ्नो ध्यानाकर्षण भएको बताउँदै विषयवस्तुमा प्रवेश गर्न आग्रह गर्दा पनि राईले सोही विषयमा बोलिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।