काठमाडौं, जेठ ४ :

स्याउ संसारभर लोकप्रिय र पोषणयुक्त फलफूलमध्ये एक हो। यसको वैज्ञानिक नाम ‘मालुस डोमेस्टिका’ हो। स्याउको मूल उत्पत्ति मध्य एसियाको वर्तमान कजाखस्तान क्षेत्रमा भएको मानिन्छ। विशेषगरी त्यहाँ पाइने जङ्गली प्रजाति ‘मालुस सिभर्सी’ लाई आधुनिक स्याउको पूर्वजका रूपमा लिइन्छ। यही प्रजातिबाट विकसित हुँदै स्याउ चीन, युरोप र पछि विश्वका विभिन्न भागमा फैलिएको इतिहास पाइन्छ।

नेपालको हिमाली क्षेत्रमा भने परापूर्वकालदेखि नै “ईडिमयल” र “सुर्खिलो” जातका जंगली स्याउ पाइन्थे। तर आधुनिक तथा विकसित जातका स्याउ भने १९औँ शताब्दीको अन्त्यतिर नेपाल भित्रिएको मानिन्छ। राणा शासनकालमा विदेशी फलफूल तथा बिरुवाहरू ल्याउने प्रचलन थियो। त्यसै क्रममा जापान, इटाली, भारत, युरोप र कश्मीरबाट स्याउका बिरुवा नेपाल ल्याइएको इतिहास भेटिन्छ।

नेपालमा स्याउ खेतीको प्रारम्भ

शुरुआती चरणमा स्याउका बिरुवाहरू काठमाडौंका विभिन्न स्थानहरू—सिंहदरबार परिसर, पुतली बगैँचा, बालाजु, छाउनी तथा गोदावरी क्षेत्रमा रोपिएका थिए। सिंहदरबार परिसरमा रोपिएका कतिपय पुराना बिरुवाहरूले लामो समयसम्म फल दिने गरेका उल्लेखहरू पाइन्छन्। ती स्याउ हरियो देखिने भए पनि पाकिसकेका हुन्थे र स्वादमा निकै मिठा मानिन्थे।तर, स्याउ खेतीका लागि आवश्यक पर्ने अत्यधिक चिसो मौसम, हिमपात र विशेष प्रकारको वातावरण काठमाडौं उपत्यकामा पर्याप्त नभएकाले उपयुक्त स्थानको खोजी सुरु भयो। त्यस क्रममा उपत्यकानजिकको चिसो क्षेत्र ककनीलाई परीक्षण केन्द्रका रूपमा छनोट गरियो।

वि.सं. २०१८ सालदेखि ककनीस्थित बागवानी फार्ममा व्यवस्थित रूपमा स्याउ खेतीको परीक्षण सुरु भयो। समुद्री सतहबाट करिब २,००० मिटर उचाइमा रहेको यस क्षेत्रमा हिउँदमा कहिलेकाहीँ हिमपात पनि हुन्थ्यो। तर अत्यधिक वर्षा, बाक्लो कुहिरो, असिना, हावाहुरी तथा ढुसीजन्य रोगका कारण ककनीको वातावरण स्याउ खेतीका लागि पूर्ण रूपमा उपयुक्त हुन सकेन।

त्यसपछि थप चिसो र हिमपात हुने क्षेत्रको खोजी गर्दै दामन र हेलम्बु मा पनि परीक्षण गरियो। तर ती स्थानहरूमा पनि ककनीकै जस्तै समस्या दोहोरिए। अन्ततः अनुसन्धानको केन्द्र हिमालपारिका सुख्खा तथा चिसो क्षेत्रतर्फ मोडियो। मुस्ताङ, लोमान्थाङ, जुम्ला, हुम्ला र डोल्पा लगायतका क्षेत्रमा स्याउ खेतीको अनुसन्धान तथा विस्तार थालियो।

यी क्षेत्रमा हिउँदमा पर्याप्त हिमपात हुने, गर्मीयाममा सुख्खा मौसम रहने, दिनमा प्रशस्त घाम लाग्ने र रातमा चिसो हुने भएकाले स्याउ खेतीका लागि अत्यन्त अनुकूल वातावरण पाइयो। यस्तो हावापानीले स्याउलाई आवश्यक चिस्यान उपलब्ध गराउनुका साथै फलमा आकर्षक रातो रङ र मिठास विकास गर्न सहयोग पुर्‍यायो।

यही कारणले हिमालपारिका क्षेत्रहरूमा स्याउ खेती सफल बन्दै गयो र क्रमशः किसानस्तरमा व्यावसायिक बगैँचा विस्तार हुन थाले। अहिले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, कालीकोट, डोल्पा तथा गण्डकी प्रदेशका मुस्ताङ र मनाङ जिल्लाहरू नेपालका प्रमुख स्याउ उत्पादन क्षेत्रका रूपमा स्थापित भएका छन्।

जुम्ला नेपालको स्याउको घर

नेपालमा स्याउ उत्पादनको चर्चा गर्दा जुम्ला लाई “स्याउको घर” भनेर चिनिन्छ। यहाँ उत्पादन हुने स्याउ अर्गानिक, स्वादिलो र रसिलो मानिन्छ। जुम्लामा संगठित रूपमा स्याउ खेती विस्तार गर्न विदेशी कृषि तथा धार्मिक व्यक्तित्वहरूको पनि योगदान रहेको उल्लेख पाइन्छ। विशेषगरी मार्शल डी. मोरन लगायत व्यक्तिहरूले उन्नत जातका बिरुवा भित्र्याउन र खेती विस्तार गर्न सहयोग पुर्‍याएका थिए।

वि.सं. २०२० सालतिर जुम्लामा उन्नत स्याउका बिरुवा रोप्ने कार्यले तीव्रता पायो। त्यसपछि हिमाली जिल्लाहरूमा स्याउ खेती किसानहरूको आम्दानीको महत्वपूर्ण स्रोत बन्दै गयो। हाल नेपालमा विभिन्न उन्नत जातका स्याउ उत्पादन हुँदै आएका छन्। रेड डेलिसियस,रोयल डेलिसियस,गोल्डेन डेलिसियस,जोनाथन र फुजी विशेष रूपमा लोकप्रिय रहेका छन्।

आज स्याउ नेपालका प्रमुख नगदे फलफूलमध्ये एक बनेको छ। हिमाली तथा उच्च पहाडी जिल्लाका हजारौँ किसानको आयआर्जन स्याउ खेतीसँग जोडिएको छ। यद्यपि, आन्तरिक उत्पादनले देशको माग पूरा गर्न नसक्दा नेपालले अझै पनि चीन र भारत बाट ठूलो परिमाणमा स्याउ आयात गर्दै आएको छ।

उत्पादन वृद्धि, भण्डारण, बजार व्यवस्थापन र प्रशोधन उद्योगको विकास गर्न सके नेपालमा स्याउ खेती अझ ठूलो आर्थिक सम्भावना बोकेको क्षेत्र बन्न सक्ने विज्ञहरूको भनाइ छ। हिमालको काखमा फलेको नेपाली स्याउ केवल फलफूल मात्र होइन, नेपालको हिमाली जीवनशैली, परिश्रम र प्राकृतिक समृद्धिको प्रतीक पनि हो।