काठमाडौं, वैशाख ११ :

मयको गतिसँगै मानिसले धेरै कुरा पायो, तर त्यो पाउने अन्धधुन्ध दौडमा केही यस्ता चिजहरू छुटे, जसको भर्पाई अब कुनै पनि आधुनिक प्रविधि वा आर्टिफिसियल इन्टेलिजेन्सले गर्न सक्दैन। आजको समाज डिजिटल सञ्जालको एउटा यस्तो 'ग्लोबल भिलेज' मा बसेको छ, जहाँ छिमेकीसँगको भौतिक दूरी त घटेको छ, तर मनको दूरी भने कयौँ कोस टाढा पुगेको छ।

 हामी यस्तो चक्रव्यूहमा फसेका छौँ, जहाँ हाम्रा हातमा हजारौँ 'कनेक्सन' त छन्, तर मनभित्रको 'कम्प्यासन' (करुणा) बिस्तारै रित्तिँदै गएको छ। यही शून्यताको बीचमा जब मानिसले आफ्नो विगतलाई फर्केर हेर्छ, तब उसले एउटा ओभानो शब्द भेट्टाउँछ '' नोस्टाल्जिया"।

नोस्टाल्जिया  पुराना दिनको सम्झना मात्र होइन, यो त आधुनिकताको रबरले मेट्न खोजेको हाम्रो मौलिक पहिचानको एउटा मौन विद्रोह हो। हिजो हाम्रा घरका ढोकाहरू मात्र होइन, मनका सङ्घारहरू पनि खुला हुन्थे। एउटा घरमा पाकेको तरकारीको सुगन्धले टोलैभरिका बालबालिकालाई भोक लगाउँथ्यो। छिमेकीको दुःखमा आँसु झार्न नाता पर्नु पर्दैनथ्यो। तर, आजको समाज आधुनिक 'फ्ल्याट' र 'गेटेड कम्युनिटी' भित्रका सिमेन्टका कोठाहरूमा खुम्चिएको छ। हातमा चम्किलो स्मार्टफोन त छ, तर आँखामा त्यो चमक कता हरायो? हिजो हप्तौं कुरेर आउने एउटा चिठ्ठीको खाम च्यात्दा जुन ढुकढुकी हुन्थ्यो, आज हजारौँ मेसेजका 'नोटिफिकेसन' ले त्यो आनन्द दिन सक्दैनन्।

आजको पुस्ताले भोगिरहेको मानसिक तनाव, एन्जाइटी र एक्लोपनको एउटा प्रमुख कारण 'जरासँगको विच्छेद' हो। हामीले विकासको नाममा एउटा यस्तो विशाल महल बनायौँ, जसको जगमा हाम्रो मौलिकता र सादगी छैन। हिजोको त्यो धुलोमा खेलिने खेल, आँगनको तुलसीको मठमा बसेर हजुरआमाले सुनाउने दन्त्यकथाहरू र चाडबाडमा हुने त्यो साँचो आत्मीयता आज 'इन्स्टाग्राम फिल्टर' र 'फेसबुक स्टोरी' को चौघेराभित्र कैद भएका छन्। प्रदर्शनको यो होडबाजीमा हामीले अनुभवको त्यो गहिराइलाई गुमाउँदै गएका छौँ, जसले मानिसलाई वास्तवमै जीवित बनाउँथ्यो। हिजो हामी 'बाँच्थ्यौँ', आज हामी केवल 'अपडेट' हुन्छौँ।

बजारले आज हाम्रो यही स्मृति-मोहलाई एउटा 'प्रोडक्ट' बनाएको छ। पुराना गीतहरूको कुरुप रिमिक्स होस् वा पुरानै फेसनलाई 'भिन्टेज' भन्दै महँगोमा बेच्ने दाउ ,व्यापारले मानिसको भावनात्मक तिर्सनालाई पुँजीकरण गरिरहेको छ। तर, के बजारले त्यो हिजोको निस्वार्थ 'आत्मीयता' फिर्ता दिन सक्छ? पक्कै सक्दैन। हामीले सम्झिने त्यो विगत भौतिक वस्तुमा अडिएको थिएन, त्यो त मानिसहरूबीचको साँचो भरोसा, स्पर्श र एकअर्काप्रतिको जिम्मेवारीमा अडिएको थियो। हिजो पैसा कम थियो तर 'चित्त' बुझाउने ठाउँ धेरै थिए, आज पैसा धेरै छ तर 'चित्त' बुझाउने ठाउँ कतै छैन।

अहिलेको आवश्यकता भनेको विगतमा पलायन हुनु वा रोएर बस्नु होइन, बरु विगतका ती सुन्दर मूल्य र मान्यताहरूलाई वर्तमानको प्रविधिसँग कसरी सन्तुलन गर्ने भन्ने हो। नोस्टाल्जियाले हामीलाई  महत्त्वपूर्ण पाठ सिकाएको छ: संसार जतिसुकै भर्चुअल भए पनि, मानवीय स्पर्श र भावनाको कुनै विकल्प छैन।

अन्त्यमा, स्मृति-मोहले हामीलाई एउटा क्रुर ऐना देखाउँछ। यसले प्रश्न गर्छ  हामीले निर्माण गरिरहेको भविष्य कतै मेसिनहरूको भीड त बनिरहेको छैन? जहाँ सबै कुरा 'अटोमेटेड' त छ, तर केही पनि 'एनिमेटेड' (जीवन्त) छैन।

यदि हामीले आफ्ना स्मृतिहरूबाट सादगी, धैर्य र प्रेम सिक्न सकेनौँ भने, आउने पुस्तासँग सम्झिन लायक कुनै पनि 'सुन्दर विगत' बाँकी रहने छैन। समय अगाडि बढ्छ, यो यसको अपरिवर्तनीय धर्म हो। तर, अगाडि बढ्दै गर्दा आफ्नो जगलाई बिर्सनु भनेको एउटा यस्तो दिशाहीन यात्रा हो जसको अन्त्य सधैँ दुर्घटनामा हुन्छ।

त्यसैले, स्मृतिहरूलाई केवल आँसुको माध्यम वा 'थ्रोब्याक' फोटोमा मात्र सीमित नराखौँ। यसलाई वर्तमानको खल्लोपनमा मिठासको स्वाद  बनाऔँ। स्मृतिहरूलाई आधार बनाएर एउटा यस्तो भविष्य निर्माण गरौँ, जहाँ प्रविधिले मानिसलाई जोडोस्, तोडोस् होइन। किनकि, यो संसारमा मानिस त्यतिबेला मात्र साँच्चै गरिब हुन्छ, जब उसको मनको ढुकुटीमा सम्झिन लायक कुनै मीठो र मौलिक क्षण बाँकी रहँदैन।