काठमाडौं, साउन २१ :

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफाका विभिन्न प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने विवादास्पद योजनासम्बन्धी आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन्।

यस बिषयमा विवाद बढेपछि मोरक्कोमा वरिष्ठ कार्यकारीहरूको  बैठक बसेको थियो ।

मोरक्को बैठकबाट समर्थन पाएपछि उनी फिफाका अध्यक्ष पदमै कायम रहने भएका छन्। 

बढ्दो आलोचनापछि इन्फान्टिनोले बुधबार मोरक्कोको राजधानी रबाटस्थित फिफाको अफ्रिका कार्यालयमा व्यवस्थापन बोर्डको बैठक बोलाएका थिए। बैठक समाप्त भएको करिब चार घण्टापछि फिफाले इन्फान्टिनोप्रति समर्थन जनाउँदै आधिकारिक वक्तव्य जारी गरेको थियो।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले गत सप्ताहन्त इन्फान्टिनोमाथिको विश्वास गुमाएको बताउँदै फिफा फर्वार्ड इन्टरप्राइज सम्बन्धी प्रस्तावलाई अस्पष्ट, बन्द कोठामा गरिएको र अपारदर्शी सम्झौताको संज्ञा दिएको थियो।

इन्फान्टिनोको योजनाको आलोचना फिफाभित्रबाट समेत भएको थियो। फिफाका महासचिव माटियास ग्राफस्ट्रोम, जो बुधबारको बैठकमा पनि सहभागी थिए उनले मंगलबार कर्मचारीहरूलाई पठाएको आन्तरिक पत्रमा यस घटनालाई दुःखद र निन्दनीय घटनाक्रम भनेका थिए।

तर बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा ग्राफस्ट्रोम र व्यवस्थापन बोर्डले इन्फान्टिनोप्रति आफ्नो पूर्ण समर्थन पुनः व्यक्त गरेका छन्।

इन्फान्टिनो र ग्राफस्ट्रोमले फिफाका उपाध्यक्षहरू,परिषद् सदस्यहरू तथा २११ सदस्य राष्ट्रका फुटबल संघहरूलाई संयुक्त रूपमा हस्ताक्षर गरिएको पत्र पनि पठाएका छन्। उक्त पत्रमा उनीहरूले "हामीले गरेका गल्तीका लागि हार्दिक रूपमा क्षमा चाहन्छौं र यस्ता गल्ती फेरि नदोहोरिने प्रतिबद्धता व्यक्त गर्छौं"भनेका छन्।

बैठकपछि दुवै जना रबाटमा भइरहेको महिला अफ्रिका कप अफ नेसन्सको खेल सँगै हेर्दै गरेको तस्वीर पनि सार्वजनिक भएको थियो।

इन्फान्टिनोले फिफाको नयाँ सहायक कम्पनी मार्फत पुरुष तथा महिला विश्वकपसहित अन्य प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत प्रत्येक सदस्य राष्ट्रलाई ४ करोड अमेरिकी डलर (करिब ३ करोड पाउन्ड) दिने प्रस्ताव गरेका थिए।

फिफाले बुधबारको बैठकमा गल्तीहरू स्वीकार गरिएको जनाएको छ। फिफा परिषद् र सदस्य संघहरूले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राखिएको महसुस गरेको भए त्यो फिफाको उद्देश्य नभएको र प्रक्रिया फरक ढंगले सञ्चालन गर्नुपर्ने स्वीकार गरिएको वक्तव्यमा उल्लेख छ।

साथै प्रस्ताव सञ्चार माध्यममा सार्वजनिक भएपछि त्यसलाई व्यवस्थापन गर्ने क्रममा पनि त्रुटि भएको फिफाले स्वीकार गरेको छ। बेलायती पत्रिका द टाइम्स ले जुलाई २८ मा इन्फान्टिनोको योजना पहिलो पटक सार्वजनिक गरेको थियो।

यद्यपि फिफाले आफ्नो वक्तव्यमा संगठनको इमानदारी, सुशासन र विधिसम्मत प्रक्रियामाथि हुने कुनै पनि आक्रमण अब सहन नसकिने स्पष्ट पार्दै आफ्नो प्रतिष्ठा र नामको रक्षा गर्न आवश्यक सबै कदम चालिने जनाएको छ।

यसअघि द टाइम्स ले इन्फान्टिनोले मोरक्कोलाई आफ्नो योजनामा समर्थन गरेबापत सन् २०३० को विश्वकपको फाइनल आयोजना गर्ने आश्वासन दिएको दाबी गरेको थियो।

तर फिफाले उक्त दाबीलाई झुटो र भ्रामक भन्दै खण्डन गरेको छ। फिफाका अनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने सन् २०३० विश्वकपको फाइनल कहाँ हुने भन्ने निर्णय उचित समयमा गरिनेछ।