काठमाडौं, चैत ३१ :

सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ कस्तो बन्ला भन्ने चासो सिनेकर्मीदेखि दर्शकसम्मलाई छ ।

दर्शकमा रहेको अपेक्षा पूरा गर्ने ‘कोशेढुंगा’का कार्यकारी निर्माता दिनेश खड्काले बताए । चलचित्रको कथा र छायांकनमा भइरहेको मिहिनेतले दर्शक निराश नहुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

‘अहिले जुन हिसाबले काम भइरहेको छ यसबाट हामीले सोचेभन्दा राम्रो भइरहेको छ । अहिलेसम्मको काम हेर्दा आउटपुट पनि राम्रो आउनेमा हामी ढुक्क छौँ,’ खड्काले भने, ‘चलचित्रको अनलाइन सम्पादनको काम सेटमै भइरहेको छ । जसमा सबै कलाकार र प्रविधिकको मिहिनेत देख्दा दर्शकलाई केही खास हुनेछ भन्ने हामी सेटबाटै भन्न सक्छौँ ।’

खड्काले स्याङ्जाको स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले पनि छायांकन सहज र प्रभावकारी भएको बताए ।

‘पूर्ण बहादुरको सारङ्गीले नेपाली बक्सअफिसमा करिब ४७ करोडको ऐतिहासिक व्यापार गर्दै सरोज पौडेललाई नेपाली सिने क्षेत्रमा नयाँ उचाइमा पुर्याएको छ,’ उनले भने, ‘दर्शकको माया र अपेक्षालाई बुझेर कोशेढुंगामा पनि त्यसअनुसारको मिहिनेत गरिरहेका छौँ । हामी कुनै पनि हालतमा दर्शकलाई निराश बनाउने छैनौं ।’

निर्माण घोषणादेखि नै दर्शकमाझ उत्सुकता र अपेक्षा दुवै बढाएको यो चलचित्रको छायांकन स्याङ्जाका विभिन्न स्थानमा पछिल्लो एक महिनादेखि भइरहेको छ । च्यासलस्थित सेटमा करिब एक साता छायांकन गरेर बाँकी छायांकनका लागि निर्माण टिम स्याङ्जा गएको थियो ।