काठमाडौँ, भदौ १३ :

गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरू सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । 

उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा ल्याउँनुपर्नेमा जोड दिनुभएको हो ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा आज बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

लक्ष्यअनुसार राजस्व उठाउने विषयमा अर्थमन्त्रालयले राखेको अपेक्षाअनुसार गृहमन्त्रालयले काम गर्ने उहाँको भनाइ छ ।

गृह मन्त्रालयका वरिष्ठ अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकहरुसँग छलफल गरेर राजस्व बढाउन निर्देशन दिएको पनि उहाँले जानकारी गराउनुभयो ।

गृहमन्त्री लेखकले जग्गा र भवन भएका छोटी भन्सार कार्यालय चाँडै सञ्चालनमा ल्याउन तथा जनशक्ति पठाउन पहल गरिने बताउनुभयो । 

गृहमन्त्री लेखकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला सुझाव दिन आग्रह गर्नुभयो । 

यस्तै, उहाँले सीमित स्रोतसाधनका बाबजुद प्रहरीले धेरै भार बोकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको ध्यानाकर्षण समेत गराउनुभयो ।