
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले चीनको बेइजिङमा सम्पन्न ग्लोबल डिजिटल इकोनोमी कन्फ्रेन्स–२०२६ मा नेपालको प्रतिनिधित्व गरेका छन्। ३० जुनदेखि ६ जुलाईसम्म सञ्चालन भएको सम्मेलनमा डिजिटल अर्थतन्त्रको सुशासन, स्मार्ट सिटी विकास, नवप्रवर्तन, कृत्रिम बौद्धिकता (एआई), डिजिटल सार्वजनिक सेवा तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको छ।
सम्मेलनअन्तर्गत आयोजित प्यानल छलफलमा मेयर कार्कीले प्यानलिस्टका रूपमा सहभागिता जनाउँदै नेपाल तथा कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल रूपान्तरण, स्मार्ट सुशासन, प्रविधिमैत्री स्थानीय शासन र डिजिटल सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा गरिरहेका अभ्यास तथा भावी योजनाबारे प्रस्तुति दिए। उनले प्रविधिको प्रयोगमार्फत सुशासन, पारदर्शिता, सेवा प्रवाह, शिक्षा तथा नागरिक सहभागिता बढाउने नगरपालिकाको प्रतिबद्धतासमेत जनाए।
सम्मेलनबाट प्राप्त ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय साझेदारीले नगरपालिकाको डिजिटल रूपान्तरण तथा स्मार्ट सुशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मेयर कार्कीले विश्वास व्यक्त गरेका छन्।
साथै उनले स्थापित व्यावसायिक सञ्जाल, संस्थागत साझेदारी र प्राविधिक अनुभवले आगामी दिनमा स्मार्ट सुशासन, ई–गभर्नेन्स, डिजिटल सार्वजनिक सेवा, क्षमता विकास, नवप्रवर्तन तथा दिगो सहरी विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने समेत बताए।
सम्मेलनकै क्रममा कागेश्वरी मनोहरा नगरपालिकाले डिजिटल इकोनोमी सिटिज–४० अलायन्सको आधिकारिक सदस्यता प्राप्त गरेको छ। नगरपालिकाका अनुसार यो सदस्यताले विश्वका शहरहरूसँग ज्ञान आदान–प्रदान, प्राविधिक सहयोग, क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय साझेदारी तथा संयुक्त परियोजना सञ्चालनका अवसर विस्तार गर्नेछ।
मेयर कार्कीले सम्मेलनका क्रममा बेइजिङ नगर सरकारका उच्च अधिकारी तथा बेइजिङ नगर अर्थतन्त्र एवं सूचना प्रविधि ब्युरोका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए। भेटमा डिजिटल सुशासन, स्मार्ट सिटी प्रविधि, डिजिटल पूर्वाधार, संस्थागत क्षमता विकास तथा दुवै नगरपालिकाबीच प्राविधिक ज्ञान आदान–प्रदानलाई अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।
प्रतिनिधिमण्डलले बेइजिङका सूचना प्रविधि कम्पनी, डिजिटल नवप्रवर्तन केन्द्र तथा नगर डिजिटल व्यवस्थापन निकायहरूको अवलोकन गर्नुका साथै चीनको अत्याधुनिक सियोङआन न्यू एरियाको अध्ययन भ्रमणसमेत गरेको थियो। भ्रमणका क्रममा चीनका डिजिटल सुशासन प्रणाली, स्मार्ट यातायात, एआईमा आधारित सार्वजनिक प्रशासन र एकीकृत नगर सेवा प्रणालीबारे जानकारी लिइएको नगरपालिकाले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय प्रशिक्षण तथा अनुसन्धान संस्थान (UNITAR) र बेइजिङ नगर अर्थतन्त्र तथा सूचना प्रविधि ब्युरोको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनमा विभिन्न देशका नगर प्रमुख, उच्च सरकारी अधिकारी, नीतिनिर्माता, डिजिटल अर्थतन्त्रका विज्ञ तथा अन्तर्राष्ट्रिय नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो।