बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज रातिदेखि नेपालमा पर्न सक्ने भन्दै सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। चक्रवात हिजो भारतको भूभागमा प्रवेश गरेको यसको प्रभाव कात्तिक १२ गते बिहीबार रातिबाट नेपालमा सुरु हुने देखिएको छ।
चक्रवातको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा, चट्याङ, हावाहुरी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
चक्रवातको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। विशेषगरी पदयात्रा, पर्वतारोहण तथा उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक र सर्वसाधारणलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सुझाव दिइएको छ।
सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न, बाढी, पहिरो र गेग्रान बहावको जोखिम सिर्जना हुन तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरिएको छ।
सम्बन्धित निकायले जोखिमयुक्त नदी किनार तथा पहिरो जान सक्ने क्षेत्रमा सतर्क रहन, मौसम पूर्वानुमान र आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन तथा विपद्को संकेत देखिए सुरक्षित स्थानमा जान अनुरोध गरेका छन्।