बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

सिंगा तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
सिंगा तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
म्याग्दी, कात्तिक १२ :

ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा–तातोपानी कुण्डमा पुगेका छन् ।

“पहिलो पटक श्रीमतीलाई लिएर आएको थिए । १५ दिनसम्म तातोपानीमा डुबेपछि उनको स्वास्थ्यमा राम्रो सुधार भयो । त्यसपछि म पनि ढाड दुख्ने समस्या कम हुने आशाले यहाँ आएको हुँ,” सुवेदीले भने ।

सुवेदीजस्तै देशका विभिन्न स्थानबाट स्वास्थ्य सुधार हुने आशा लिएर सिंगा तातोपानी कुण्डमा आउनेको सङ्ख्या बढ्दै गएको छ । दसैँतिहारको बिदा र चिसो बढ्न थालेसँगै यस कुण्डमा स्नान गर्ने पाहुनाको चहलपहल बढेको हो ।

बागलुङ नगरपालिका–५ का केशवबहादुर केसी २०५८ सालमा दुर्घटनामा परेर खुट्टा भाँचिएपछि लामो समयदेखि दुखाइको समस्या भोग्दै आएका छन् । शिक्षक पनि रहेका केसी विगत १० वर्षदेखि हरेक वर्ष दसैँतिहारको बिदामा सात दिनका लागि तातोपानी कुण्डमा स्नान गर्न पुग्छन् । कुण्डमा डुबेपछि दुखाइ कम हुने गरेको उनको अनुभव छ ।

काठमाडौँकी राधादेवी शर्मा पनि २०६३ सालदेखि हरेक वर्ष तातोपानी कुण्डमा स्नान गर्न पुग्ने गर्छन् । नसा च्यापिने र कम्मर दुख्ने समस्या भएपछि कुण्डमा आउन थालेको उनले बताए  । आमा, बुबा र छिमेकी यहाँ आएर स्नान गरेको अनुभव सुनाउँदै उनले तातोपानीले शरीर हलुका हुने र ग्यास्ट्रिकको समस्या कम भएको बताए ।

“घरमा बाथटब बनाएर तातोपानीमा डुब्नु र यहाँ प्राकृतिक रूपमा निस्किएको तातोपानीमा शरीर डुबाएर स्नान गर्नुमा फरक छ । यहाँको वातावरण र प्राकृतिक पानीले थप सहज महसुस हुन्छ,” शर्माले भने ।

दुखाइ कम हुने आशा

बागलुङका सरिता केसीका लागि सिंगा तातोपानी कुण्डको अनुभव नयाँ हो । छिमेकीबाट कुण्डबारे जानकारी पाएपछि उहाँ यसपालि दसैँको बिदा मिलाएर यहाँ आउनुभएको हो । दसैँअघि स्कुटर दुर्घटनामा परेपछि औँलाको नसा च्यापिने र टाउको दुख्ने समस्या भएपछि स्नान गर्न आएको उनले बताए । कुण्डमा स्नान गरेपछि दुखाइमा सुधार भएको र शरीरमा स्फूर्ति आएको उनको अनुभव छ ।

“यहाँको वातावरणमा आइपुग्दा मन हलुका भएको महसुस भयो । स्नान गरेपछि शरीरलाई आराम मिलेको छ,” केसीले भने । पर्वतको कुश्मा नगरपालिका–११ पकुवाकी सीता तिमिल्सिना चार वर्षदेखि नियमित रूपमा तातोपानी कुण्डमा आउछन् । चिसो बढ्दा दमको समस्या बल्झिने गरे पनि यहाँ स्नान गरेपछि सहज महसुस हुने उनले बताए । आफ्नो स्वास्थ्यमा सुधार भएको अनुभवपछि आफन्त र दिदीबहिनीलाई स्नान गराउन ल्याएको उनको भनाइ छ ।

पाल्पाको रम्भा गाउँपालिका–४ की मनिषा भट्टराई पौडेल पनि यसपालि दोस्रो पटक कुण्डमा पुगेका छन् । गत वर्ष पहिलो पटक कुण्डमा स्नान गरेको केही समयपछि नसासम्बन्धी समस्यामा सुधार भएको उहाँको अनुभव छ । “जेठाजु र जेठानीको सल्लाहमा गत वर्ष पहिलो पटक यहाँ आएकी थिएँ । स्नान गरेपछि स्वास्थ्यमा सुधार भयो । यसपालि आमा र परिवारका अन्य सदस्यसहित पाँच जनाको टोली आएका छौँ,” पौडेलले भने ।

उनका श्रीमानलाई पनि युरिक एसिड र ग्यास्ट्रिकको समस्या थियो । कुण्डमा स्नान गर्न थालेपछि स्वास्थ्यमा सुधार भएको उनले बताए। म्याग्दीको मालिका गाउँपालिका–४ का फाले सुनारले पनि तातोपानीमा स्नान गर्दा अस्पताल आउजाउ गर्न र औषधि किन्न लाग्ने खर्च तथा समय बचत भएको अनुभव सुनाए ।

दैनिक सात सयसम्मले गर्दैछन् स्नान

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार दसैँलगत्तै दैनिक छ सयदेखि सात सय जनासम्मले कुण्डमा स्नान गरिरहेका छन् । विगतका वर्षमा असोज र कात्तिक महिनामा दैनिक एक हजार ५०० जनासम्म स्नान गर्न आउने गरेका थिए । “कुण्डमा एकपटकमा २५० जनासम्मले स्नान गर्न मिल्छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै समयतालिका बनाइएको छ,” अध्यक्ष खड्काले भने ।

गत वर्ष नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट पनि गरी २१ हजारभन्दा बढी व्यक्ति प्राकृतिक तातोपानीमा स्नान गर्न आएको कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले जानकारी दिए । उनका अनुसार बिहान ५:३० देखि साँझ ५:३० बजेसम्म महिला र पुरुषका लागि छुट्टाछुट्टै समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । असोजदेखि वैशाखसम्मको समयलाई तातोपानी कुण्डमा स्नान गर्ने मुख्य यामका रूपमा लिइन्छ ।

म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानीलाई पोखरीमा सङ्कलन गरेर स्नान गर्ने व्यवस्था मिलाइएको छ । करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने पानीमा बिरेनुनको जस्तो गन्ध आउने कुण्ड व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले बताए ।

स्थानीयवासी तथा यहाँ आउने पाहुनाले तातोपानीमा स्नान गर्दा छाला, बाथ, ग्यास्ट्रिक तथा चोटपटकका कारण हुने दुखाइमा राहत मिल्ने विश्वास गर्छन् । स्नानसँगै तातोपानी पिउने चलन रहेको छ । काठमाडौँकी सविना शर्माले पनि स्नान र तातोपानी सेवनपछि स्वास्थ्यमा फाइदा भएको अनुभव सुनाए ।

कुण्डमा सात दिन स्नान गर्न प्रतिव्यक्ति रु ३५० र नौ दिनका लागि रु ५०० शुल्क निर्धारण गरिएको छ । प्रवेश शुल्कबाट उठेको रकमको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको समितिले जनाएको छ ।

बाढीले क्षति पुर्याएपछि पुनः सञ्चालन

गत असोजको अविरल वर्षापछि आएको बाढी र पहिरोले सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको थियो । बाढीले कुण्डमा हिलो र फोहोर थुपारेपछि स्थानीयवासी तथा सरोकारवालाले श्रमदान गरेर सरसफाइ र पहिरो पन्छाउने काम गरेका थिए । त्यसपछि असोज २७ गतेदेखि कुण्ड नियमित रूपमा सञ्चालनमा आएको हो ।

बाढीपहिरोले कुण्डका भौतिक संरचनामा करिब रु तीन करोड बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान छ । छोटो अवधिका लागि आउने पाहुनाले स्नान गर्ने पोखरीमा क्षति पुगेकाले त्यो अझै सञ्चालनमा आउन सकेको छैन । कुण्डको संरक्षण तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सर्वेक्षण र लागत अनुमान तयार गरी सरकारसँग बजेट माग गरिएको व्यवस्थापन समितिले जनाएको छ । बाढीले स्नान गर्ने क्षेत्र साँघुरिएकाले व्यवस्थापनमा चुनौती थपिएको छ ।

पाहुनाको चहलपहलले होटल व्यवसायमा उत्साह

तातोपानी कुण्डमा स्नान गर्न देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेपछि स्थानीय होटल तथा घरबास व्यवसायमा पनि चहलपहल बढेको छ । होटल व्यवसायी समिति तातोपानीका अध्यक्ष सीता घलेका अनुसार यहाँका होटल र घरबासका कोठा पाहुनाले भरिन थालेका छन् ।

“यहाँ सानाठूला गरी २० वटा होटल छन् । पाहुनाले घरका कोठा र ग्यास भाडामा लिएर आफैँ खाना पकाएर बस्न पनि सक्छन्,” घलेले भने । म्याग्दी नदीमा पाइने असला माछा यहाँको विशेष परिकार हो । प्राकृतिक तातोपानीमा स्नान गर्ने, स्थानीय वातावरणमा रमाउने र यहाँका परिकारको स्वाद लिने अवसरले पनि पाहुनालाई आकर्षित गरेको व्यवसायीको भनाइ छ ।

प्राकृतिक रूपमा निस्कने तातोपानी, स्थानीयको आतिथ्य र सहज बसोबासको व्यवस्थाले सिंगा तातोपानी कुण्डलाई म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न समस्या लिएर आउने पाहुनाले यहाँ स्नानपछि राहत मिलेको अनुभव सुनाएपनि थप वैज्ञानिक अनुसन्धानको आवश्यकता देखिएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार