सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा लाग्दै आएको एकमहिने ‘सिरुवा’ मेला सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुनसरीको विभिन्न स्थानमा गरेर एक महिनासम्म लाग्ने जिल्लाकै पौराणिक एकमहिने सिरुवा मेला सुरु भएको हो ।
इनरुवा- ६ मधेसबाट सुरु भएको यो मेला जिल्लाका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख एवं अग्रज ८५ वर्षीय गोपाल कोइरालाले बताए । विसं २००७ को क्रान्ति र झोडा फँडानीपछि यहाँ लाग्दै आएको एकमहिने मेला मोरङमा गएर समापन हुनेछ ।
यो मेला सदरमुकाम इनरुवाको, मधेस, इनरुवा- ७ चान्दबेला, इनरुवा- ८ गणेशपुर, इनरुवा- १ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी- २ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुन्छ ।
एक महिनासम्म प्रत्येक ठाउँमा बिहान ८ बजेदेखि लाग्ने यो मेला साँझ अन्त्य गरिन्छ । अर्को दिन पुनः अर्को ठाउँमा लाग्ने गर्दछ ।
मेला भर्नका लागि जिल्लामा पाहुनाका रूपमा अन्य जिल्लाबाट आफन्त आउने गरेको इनरुवा १ का वडासदस्य प्रदीप ढकालले बताए ।