हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देवचुली नगरपालिका १६, रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका छन् ।
चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रममा उनले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गरे । स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकामा दाहालको जोड छ ।
उनले यसअघि महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन गरेका थिए । ‘स्थानीय रूपमा सुरु गरिएको यस चिकित्सालयले आज देशकै महत्त्वपूर्ण स्वास्थ्य संस्थाको रूपमा परिचय बनाइसकेको छ,’ उनले भने, ‘नेपालको योग तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणाली र एलोपेथिक प्रवृत्तिमा देखिएको बेथिति हटाउँदै, सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।’
अध्यक्ष दाहालले चिकित्सक अभावको विषय उठाउँदै आवश्यक पाठ्यक्रम तयार गरी शिक्षणको व्यवस्था मिलाइने जानकारी दिए । साथै उनले व्यवस्थापन र भवन निर्माणमा आवश्यक पहल गर्ने आश्वासन पनि दिए ।