आन्दोलनरत शिक्षकहरुले आज १४ औँ दिन पनि प्रदर्शनलाई जारी राखेका छन्।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आएका उनीहरुले मंगलबार दिउँसो हुरीबतास आउँदा पनि सडक छाडेनन् । माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिए । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेको थियो ।
शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलन नसुनेको भन्दै सरकारो आलोचना सुरु भएको छ । शिक्षकहरू सडकमा आएर आन्दोलन गर्दा पनि सरकार मागप्रति उदासिन बनेको उनीहरुले आरोप लगाएका छन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्। सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौताबमोजिम सरकारले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने थियो तर, अहिलेसम्म पनि कार्यान्वयन नभएपछि दबाब दिन काठमाडौं आउन बाध्य भएका हुन् । संसद्को नियमित अधिवेशन अन्त्य भएको वर्तमान अवस्थामा अध्यादेशमार्फत भए पनि ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ ।