
काठमाडौं, वैशाख ३ :
नेपालले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले पाहुना टोली हङकङमाथि ९ विकेटको जित निकालेको हो।
जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेट गुमाउँदै ११८ रन बनायो।
त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल तयार पारेको थियो।
नेपालका नेपालका साहिल पटेलले सर्वाधिक ४२ रन बनाए। युवराज खत्रीले सर्वाधिक चार विकेट लिए। विपिनप्रसाद शर्माले तीन सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिए।
नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।