
फाइल फोटो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायत सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।
सञ्चारिका समूह नेपालको ९औँ महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याटफर्महरूले मुलुकको कानुन पालन गर्नुपर्ने स्पष्ट पारे। उनले सरकारले दिएको एक महिनाको समय सकिन केही दिन मात्र बाँकी रहँदा पनि प्रमुख सामाजिक सञ्जालहरू दर्ता प्रक्रियामा नआएकोप्रति चिन्ता व्यक्त गरे।
‘अब दुई–तीन दिन मात्रै बाँकी छ, तर कोही आउँदैनन्। सरकारलाई नै टेर्दैनन्,’ उनले भने, ‘समयभित्र दर्ता नभए प्रतिबन्ध लाग्छ।’ उनका अनुसार सामाजिक सञ्जालसम्बन्धी कानुन सञ्चारमाध्यमहरूलाई बन्द गर्ने उद्देश्यले होइन, नियमन गर्ने उद्देश्यले ल्याइएको हो।
उनले प्रविधिको दुरुपयोग गर्दै मुलुक, राजनीतिक दलहरू र आम जनतालाई कमजोर पार्ने प्रयास भइरहेकाले सरकारले त्यसलाई गम्भीरताका साथ रोक्न लागेको बताए।
कार्यक्रममा पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई सञ्चारिका अग्रणी सम्मान प्रदान गरिएको छ। त्यस्तै, सञ्चारिका समानता पुरस्कार पत्रकार धनु विश्वकर्मालाई तथा स्व. उमा सिंह पत्रकारिता पुरस्कार पत्रकार सपना कुमारी कर्णलाई प्रदान गरिएको थियो।