काठमाडौं, वैशाख ११ :

अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन अन्तर्गत एलन मस्कको अध्यक्षतामा रहेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सी (डिओजिइ) ले यो निर्णय गरेको हो।

सन् २००४ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको कार्यकालमा स्थापना गरिएको एमसीसीले गरिबी निवारण र आर्थिक विकास प्रवर्द्धनका लागि विश्वभरका थुप्रै मुलुकमा ठूला पूर्वाधार परियोजनाहरू सञ्चालन गर्दै आएको थियो। वार्षिक झन्डै ९०० मिलियन अमेरिकी डलरको बजेट रहेको एमसीसी अन्तर्गतका सबै कार्यक्रमहरू अब बन्द गरिने निर्णय भएको डिओजिइले जनाएको छ।

यद्यपि मङ्गोलिया, सेनेगल, नेपाल र आइभोरी कोस्टमा हाल सञ्चालनमा रहेका केही पूर्वाधार परियोजनाहरूलाई अस्थायी रूपमा निरन्तरता दिइने भएको छ। एमसीसीमा कार्यरत करिब ३०० कर्मचारीलाई स्वैच्छिक अवकाश, तलबसहितको राजीनामा, वा प्रशासनिक बिदा मध्ये कुनै एक विकल्प रोज्न अप्रिल २९ भित्र समयसीमा तोकिएको छ।

नेपालमा एमसीसीको ५०० मिलियन डलर बराबरको अनुदान परियोजना समेत यस निर्णयबाट प्रभावित भएको छ। नेपालमा ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण तथा सडक सुधार कार्य समेटिएको यो परियोजना अमेरिकी राष्ट्रपति ट्रम्पको जनवरी २०, २०२५ मा जारी कार्यकारी आदेशअनुसार आगामी ९० दिनका लागि स्थगित गरिएको छ।यसबीचमा परियोजनाको पुनरावलोकन गरी नयाँ ढाँचामा अगाडि बढाउने वा स्थायी रूपमा बन्द गर्ने भन्नेबारे थप निर्णय लिइने बताइएको छ।