
इरानको दक्षिणी शहर बन्दर अब्बासमा भएको विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै पाँच सय भन्दा बढी घाइते भएका छन् ।
शहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा नजिकैको कार्यालय भवनको झ्याल फुटेको छ भने कम्तीमा एउटा भवनको छाना समेत ढलेको छ ।
फुटेजमा विष्फोटको समयमा मानिसहरु भागिरहेको र अन्य मानिसहरु सडकमा घाइते अवस्थामा रहेको देखिएको छ । भत्किएका पर्खालमुनि मानिसहरू फसेको खबर पनि छ।
घटनास्थलमा अझै पनि आगो लागेको छ र तस्बिरमा कालो धुवाँको ठूलो बादल घाटमाथि उडिरहेको बीबीसीले उल्लेख गरेको छ ।
शहिद राजाई बन्दरगाह घाट क्षेत्रमा भण्डारण गरिएका केही कन्टेनरमा विस्फोट भएको संकट व्यवस्थापनका एक अधिकारीले बताएका छन् । स्थानीयबासिन्दाले पनि केही किलोमिटर टाढाबाट विस्फोटको आवाज सुनेको बताएका छन् ।
शहिद राजाई इरानको दक्षिणी तटमा रहेको होर्मोजगान प्रान्तमा अवस्थित देशको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह हो।