
प्रतीकात्मक तस्बिर ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका ९, तुम्लिङटारमा एक वृद्धको शङ्कस्पद मृत्यु भएको छ ।
खाँदबारी ९, तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको शङ्कास्पद मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । अपरिचित समूहको आक्रमणबाट सख्त घाइते हुनु भएका कुमालको मनकामना सामुदायिक अस्पतालमा पुर्याउनुअघि नै मृत्यु भइसकेको थियो ।
आफ्नै घरमा सुतिरहेका ७२ वर्षीय कुमालको गएराति साढे १२ बजे अपरिचित दुईजनाले घाँटीमा थिचेर हत्या गरेको प्रहरी निरीक्षक लामिछानेले जनाए । घरभित्र केहही अपरिचित व्यक्ति छिरेपछि श्रीमतिले छिमेकीलाई भेला गरेर हेर्दा वृद्ध कुमालको मृत्यु भइसकेको थियो ।
घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताए । उनका अनुसार घटनालगत्तै फरार भएका व्यक्तिहरुको खोजी भइरहेको छ । फरार अभियुक्तहरुको खोजीका लागि सबै नाका सिल गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतसहितको टोली खटिएको छ । मृतक कुमाल पत्नीसँगै बस्दै आएका थिए । हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।