
हुथी नियन्त्रित उत्तर–पश्चिमी यमनको हिरासत केन्द्रमा अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा ६८ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ ।
बम विष्फोट हुँदा अन्य ४७ आप्रवासी घाइते भएका र तीमध्ये अधिकांशको अवस्था गम्भीर रहेको अल मसिराहले जनाएको छ । यसले ध्वस्त भएको भवनको भग्नावशेषमा धेरै शवहरू ढाकिएको अवस्थामा रहेको समाचार छ ।
अमेरिकी सेनाको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च १५ मा हुथी विद्रोहीविरुद्ध हवाई अभियान तीव्र पार्न आदेश दिएयता अमेरिकी सेन्ट्रल कमान्डले आफ्ना सेनाले ८ सय भन्दा बढी लक्ष्यमा आक्रमण गरेको घोषणा गरेको केही घण्टापछि यो घटना भएको हो ।
उक्त आक्रमणमा सयौं हुथी लडाकू र थुप्रै हुथी नेताहरूको मृत्यु भएको क्षेप्यास्त्र र ड्रोन कार्यक्रमको रेखदेख गरिरहेका वरिष्ठ अधिकारीहरू समेत रहेको बताइएको छ।
हुथी नेतृत्वको अधिकारीहरूले आक्रमणमा दर्जनौं सर्वसाधारणको मृत्यु भएको बताएका छन् तर समूहका सदस्यहरूमध्ये केही मात्र हताहत भएका छन्।
सादास्थित आप्रवासी डिटेन्सन सेन्टरमा आइतबार राति १ सय १५ जना अफ्रिकी नागरिक रहेको बताइएको छ ।
यमनमा ११ वर्षको द्वन्द्वका कारण उत्पन्न मानवीय संकटका बावजुद आप्रवासीहरू अफ्रिकाको हर्नबाट डुङ्गाबाट देश भित्रिने क्रम जारी छ ।
यसको साटो उनीहरूले शोषण,हिरासत,हिंसा र सक्रिय द्वन्द्वग्रस्त क्षेत्रहरू हुँदै खतरनाक यात्राको सामना गर्नुपरेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जनाएको छ।