
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक-अर्काका पर्यायवाची भएको धारणा व्यक्त गरेका छन् ।
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा मंगलबार आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहमा उनले यस्तो बताएका हुन् । उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै ‘राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी’ भन्नुको आशय उल्लेख गरे । लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने उनको भनाइ छ । उनले भने, ‘लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो । लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन । लेखक र लोकतन्त्र एक-अर्काका पर्यायवाची हुन् ।’
मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वान्हरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गराए । साथै हालको समयमा निराशाको खेती बढ्दै गएकोप्रति चिन्ता जनाए । उनले आशा र सकारात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता औंल्याए ।
उनले पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको पनि उल्लेख गरे । राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको उनको धारणा छ ।
कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो । वैरागी काइँलासहित ३२ जना व्यक्तिलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो ।