काठमाडौं, वैशाख १७ :

नेपाली चलचित्र ‘शिवांश’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । निर्माणपक्षले बुधबार फर्स्टलुक सार्वजनिक गर्दै ‘शिवाशं : च्याप्टर १’ निर्माणको घोषणा गरेको हो ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोषकुमार आत्रेयले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो ।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् । विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहनेछ ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन् । जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी छन् । पटकथा भने बारत लिम्बूले तयार पारेका छन् ।

सार्वजनिक पोस्टरमा प्रमुख कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन् । अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ ।

पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्छ । तर कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन ।

चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन् । स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ ।

यो चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चौहानले गर्नेछन् । सिनेमाटोग्राफी सरद महतोको रहने चलचित्रको मुख्य सहायक निर्देशक बारत लिम्बू हुन् । स्क्रिप्ट डक्टरका रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता शम्भु थापा छन् ।

विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन् । कस्ट्युम कमल मिश्रले तयार गर्नेछन् । मेकअप आर्टिस्ट (एमयूए) तुलसा लिम्बू हुनेछिन् ।

पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका हुन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी छन् । प्रोडक्सन म्यानेजरका रूपमा मिलन मानन्धर रहनेछन् ।

‘शिवांश : च्याप्टर १’ आउँदो असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको पोस्ट-प्रोडक्सन कार्य चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन) ले लिएको छ ।